कञ्चनपुर,असोज १५ गते । मधेस प्रदेश सरकारले बाढीमा परि ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ नगद दिने निर्णय गरेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले आइतबार बसेको प्रदेश स्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा उक्त निर्णय गरेको हो।
गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार, यस निर्णयसँगै बाढीबाट भएको क्षति यकिन गर्दै पीडित परिवारलाई अत्यावश्यक आधारभूत सामग्रीसहित राहत उपलब्ध गराइनेछ। मधेसमा एक साता लामो अविरल वर्षाका कारण भएको अतुलनीय जनधनको क्षतिप्रति प्रदेश सरकार गहिरो चिन्ता व्यक्त गरेको छ र विपद्को घडीमा नागरिक समुदायलाई एकताबद्ध भएर सामना गर्न अपिल समेत गरेको छ।
राहत वितरणलाई प्रभावकारी बनाउन बैठकले स्थानीय तहलाई क्षतिको विस्तृत विवरणसहित जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराउन निर्देशन दिएको छ। मन्त्री लेखीले शनिबार कोशी, त्रियुगा, महुली, खाडो नदी लगायत मधेसका विभिन्न नदीहरूको निरीक्षण गरेका थिए र आइतबार आकस्मिक बैठक आह्वानको निर्देशन दिएका थिए।
प्रतिक्रिया