कञ्चनपुर, असोज १६ गते ।
कञ्चनरुप नगरपालिका वडा नं. ३ स्थित शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक दिलिप कुमार गुप्ता, विद्यालयका शिक्षक ह्रदयराम चौधरी, र मुखिया श्रवण कुमार चौधरीमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार उनीहरूमाथि कानूनी कारबाहीको लागि विशेष अदालतमा आरोपपत्र पेश गरेको हो ।
अख्तियारको अनुसन्धानले विद्यालयको शौचालय निर्माणका लागि छुट्याइएको रु. ६२५८३ ।३६, छात्रवृत्ति रकम रु. ३१०४००, पाठ्यपुस्तक खरिदको रकम रु. १२६२४७ ।२६ र पी.सी.एफ. शिक्षक तलबभत्ता रु. १५०६८६ गरी कुल रु. ६४९९१६ ।६२ को हिनामिना भएको पुष्टि गरेको छ । प्रधानाध्यापक गुप्ताले शौचालय निर्माण र अन्य शीर्षकका रकमहरू मनपरी ढंगले खर्च गरेको आरोप छ ।
साथै, विद्यालयका शिक्षक ह्रदयराम चौधरीले शौचालय निर्माणको लागि निकासा भएको रु. २००००० मध्ये केवल रु. १३७४१६ ।६४ मात्र काममा खर्च गरी बाँकी रकम हिनामिना गरेको पाइएको छ । मुखिया श्रवण कुमार चौधरीमाथि पनि विद्यार्थीहरूको छात्रवृत्ति र अन्य श्रोतको रकम हिनामिना गरेको आरोप लगाइएको छ ।
तीनै जनालाई भ्रष्टाचारको कसुरमा कारबाही गर्दै बिगो रकम असुल उपर गर्न अख्तियारले विशेष अदालतसमक्ष मागदाबी गरेको छ ।
प्रतिक्रिया