मुख्यमन्त्रीको नाम भजाएर चुरे क्षेत्रमा जनमत नेता नविन सिंहद्वारा बालुवा तस्करी, दुई ट्याक्टर नियन्त्रणमा

...

कञ्चनपुर, असोज १८ गते
मधेशका मुख्यमन्त्री सतिश सिंहको नाममा सप्तरीको कञ्चनरुप नगरपालिका ६ स्थित पौडा खोलाबाट (चुरे क्षेत्रबाट) जनमतका नेता नवीन सिंहले बालुवा तस्करी गरिरहेको पाइएको छ। जनमत पार्टी कञ्चनरुप नगरपालिका ५ का वडा संयोजक सिंहको ट्याक्टरलाई स्थानीयको दबाबपछि बालुवा ओसारपसार गर्दै गर्दा वन कार्यालयका कर्मचारीहरूले नियन्त्रणमा लिएका छन्। सवडिभिजन वन कार्यालय कञ्चनपुर अन्तर्गत रहेको बलारदह वन कार्यालयका कर्मचारीहरूले मे१त ४३०१ र स१ त ४९२७ नम्बरका ट्याक्टरहरूलाई शुक्रबार नियन्त्रणमा लिएका हुन्।

नवीन सिंहले दुई ओटा ट्याक्टरमार्फत दैनिक रूपमा दर्जनौँ टिप बालुवा पौडा खोलाबाट निकालेर खोलाभन्दा करिब डेढ किलोमिटर टाढा आफनै जग्गामा बालुवाको डिपो राखेका छन्। उक्त डिपोबाट बालुवा स्थानीय बजारमा प्रति ट्याक्टर २ हजार रुपैयाँमा बिक्री गर्दै आएका छन्। सिंहले सुनसरीमा समेत ठूलो गाडीमा लोड गरेर बालुवा बेच्दै आएका छन्। प्रारम्भमा उनी राति बालुवा तस्करी गर्थे, तर मुख्यमन्त्री सतिश सिंहको कार्यकाल सुरु भएपछि दिउँसै खुलेआम तस्करी गर्न थालेको बताइएको छ। प्रहरीमा यो गतिविधिलाई लिएर अनदेखा भइरहेको स्थानीयको गुनासो छ।

स्थानीयवासीका अनुसार पालिका, प्रहरी, र वन कार्यालयका कर्मचारीहरूको प्रत्यक्ष संलग्नतामा दैनिक सयौँ टिप बालुवा खोलाबाट निकालीरहेको छ। स्थानीयका अनुसार सिंहले वन कार्यालयका कर्मचारी र प्रहरीलाई राजनीतिक दबाब र आर्थिक प्रभावमा पारेर बालुवा तस्करी गरिरहेको छ। जनमत पार्टीका स्थानीय नेता भरत साहका अनुसार सिंहले खोलादेखि करिब दुई किलोमिटर पूर्व विद्यालय नजिक बालुवा तस्करी गरेर डिपो बनाएको छ। साहले बालुवा तस्करीमा जनमतका अन्य केही नेताहरूले पनि सिंहलाई सहयोग गरिरहेको जानकारी दिएका छन्।

बलारदह वन पोस्टका इन्चार्ज लक्षमेश्वर यादवका अनुसार उनी शुक्रबार बिहान करिब ८ बजे पौडा खोलामा निरीक्षणका लागि गएका थिए। त्यही बेला ट्र्याक्टरमा बालुवा लोड गरिरहेको देखेपछि ट्र्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो। यादवले मे१त ४३०१ नम्बरको ट्र्याक्टर खोलामा फसिरहेको अवस्था पनि देखेका थिए। उनले भने, "बालुवा उत्खननले चुरे विनाशको प्रमुख कारण बनेको छ।" यस प्रकारको गतिविधिले वन्यजन्तु र स्थानीय वातावरणमा गम्भीर असर पुर्याइरहेको यादवले बताए।

केही समयअघि जनमत पार्टीकै केही नेताहरूले पनि प्रहरीलाई सिंहले बालुवा तस्करी गरिरहेको सूचना दिएका थिए। तर, पार्टीभित्रको छलफलपछि उक्त कुरा टुंग्याइएको थियो। नाम नखुलाउने सर्तमा वनका एक कर्मचारीले बताए अनुसार सिंहले आफू मुख्यमन्त्री सतिश सिंहको भतिजा भएको र वन मन्त्रालयमा जनमत पार्टीकै प्रभुत्व रहेको भन्दै वन कर्मचारीहरूलाई ट्याक्टर नसमात्न धम्क्याएका थिए। शुक्रबार खोलामा ट्याक्टर नियन्त्रणमा लिइएपछि स्थानीय वन कर्मचारीहरूलाई ट्याक्टर छोड्न दबाब दिइएको थियो। तर, बालुवा उत्खनन भइरहेको भिडियो र फोटो पत्रकारहरूले खिचिसकेकाले उनीहरूले ट्याक्टर छोड्न अस्वीकार गरेका थिए।

अर्को ट्र्याक्टरका मालिक उमेश साहले भने, "मैले बलारदह पोस्टका एक सिपाहीलाई अनुमति लिएर बालुवा लिन आएको थिएँ, तर इन्चार्जको बिना अनुमति बालुवा निकाल्नुभएको मेरो गल्ती हो।" यो घटनाले वन संरक्षण र वातावरण सुरक्षामा नयाँ सवाल खडा गरेको छ। स्थानीय सरकार र वन कार्यालयहरूले यस्तो गतिविधि रोक्न थप कडा नियम र निगरानीको आवश्यकता रहेको औंल्याएका छन्।

बालुवा ओसारपसारका कारण पौडा खोलामा आउने बाढीले प्रत्येक वर्ष किसानहरूको विगाहौँ खेतमा लगाएको धानवाली पुरेर नष्ट हुने गरेको छ। बालुवा तस्करीले दीर्घकालीन रूपमा जलवायु र भौगोलिक संरचनामा महत्वपूर्ण असर पुर्याइरहेको छ। यस घटनापछि, स्थानीय बासिन्दाहरूले वन संरक्षणमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। यस किसिमको गतिविधि रोक्न दण्डनायिक र प्रशासनिक कदमहरू उठाउनु पर्ने देखिन्छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालले नदी नियन्त्रण र व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहको रहेको बताउँदै, तस्करी भएको सूचना पाएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिने जानकारी दिएका छन्।

प्रतिक्रिया