सप्तरीमा अपराध नियन्त्रणका लागि मिडियाको साथ महत्वपूर्णः एसपी खतिवडा

...

राजविराज, असोज, २० गते  ।
सप्तरीका नवागंतुक प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले अपराध नियन्त्रणमा मिडियाको महत्वपूर्ण भूमिका रहने बताएका छन् । राजविराजमा शनिबार जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले पत्रकारहरूलाई अपराध नियन्त्रणमा सहकार्यको लागि आह्वान गरे ।
एसपी खतिवडाले जिल्लामा शान्ति सुरक्षाका लागि आफ्नो प्रतिबद्धता दोहो¥याउँदै भने, “सप्तरीमा यसअघि पनि जिल्ला ट्राफिक प्रहरी प्रमुखको रूपमा ११ महिना जिम्मेवारी सम्हालेको थिएँ, त्यतिबेलाको पत्रकारसँगको सहकार्यले सफलता मिलेको थियो । अब पनि पत्रकारहरूको साथ पाउनेमा विश्वस्त छु ।“
उनले अपराध नियन्त्रणमा एकल प्रयासले मात्र सफलता हासिल हुन नसक्ने बताउँदै मिडियाको सहयोग अपरिहार्य भएको उल्लेख गरे । उनले थपे, “जिल्लाको शान्ति सुरक्षा कायम गर्न मिडियासँगको सहकार्यलाई अझ सुदृढ बनाउनेछु ।’’
पत्रकारहरूले पनि सुरक्षा चुनौती, लागू औषध, चोरी, तस्करी र भ्रष्टाचारजस्ता समस्याहरूमा समाधानका लागि सुझाव दिएका थिए । सहभागी पत्रकारहरूले सप्तरी प्रहरीप्रति सर्वसाधारण जनताको विश्वास पुनःस्थापित गर्न ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
पत्रकार महासंघका सदस्यहरूले पत्रकारिता गर्ने वातावरण सहज बनाउन प्रहरी प्रशासनको भूमिकामा सुधार आवश्यक रहेको धारणा राखे । नवागंतुक एसपी खतिवडाले सप्तरी प्रहरी प्रमुखको रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै जिल्ला शान्ति सुरक्षामा प्रतिबद्ध भएर काम गर्ने प्रतिज्ञा व्यक्त गरे ।
 

प्रतिक्रिया