गैरसरकारी संस्थाहरूबीच समन्वयको आवश्यकता सुरक्षित आवास निर्माणमा जोड

...

कञ्चनपुर, २१ असोज गते ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा सोमबार आयोजित एक कार्यक्रममा, समुदायमा आधारित कार्यक्रमहरू प्रभावकारी बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबीच समन्वयको महत्त्वलाई जोड दिइएको छ। महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले एक–आपसमा सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिएका छन्।

महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष श्यामकान्त चौधरीको नेतृत्वमा भएको यस बैठकमा वक्ताहरूले समन्वयको अभावले धेरै कार्यक्रमहरू प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको भन्दै, समन्वयले मात्र समुदायलाई लक्षित परियोजनाहरू सफल बनाउन सकिने बताए। कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले सुरक्षित आवास परियोजना अन्तर्गत ४,६७८ जनालाई विपद्(मुक्त र वातावरणमैत्री आवास हस्तान्तरण गरेको जानकारी दिँदै, स्थानीय स्रोतसाधनको उपयोगले वित्तीय मितव्यता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

चौधरीले बाँसको प्रयोगले कम लगानीमा जलवायुमैत्री आवास निर्माण गर्न सकिने र बाँस खेतीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता पनि औंल्याए। साथै, उनले नीति अभावका कारण स्थानीय तहमा गैरसरकारी संस्थाहरूले सामना गरिरहेको समस्याबारे पनि चर्चा गर्दै, गैरसरकारी संस्थाहरूलाई नाफामुखी मान्यता दिने नीति ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवान, कृषक महासंघकी सदस्य सुमित्रा देवी चौधरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका प्रशासन प्रमुख योगेन्द्र प्रसाद यादवलगायत विभिन्न संस्थाका प्रतिनिधिहरूले सुरक्षित आवास, विपद् व्यवस्थापन, र खानेपानी सरसफाइका क्षेत्रहरूमा सहकार्यको आवश्यकता औंल्याएका थिए।

कार्यक्रमको सञ्चालन महुली सामुदायिक विकास केन्द्रका सहायक कार्यकारी निर्देशक तथा सुरक्षित आवास परियोजनाका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले गरेका थिए।

प्रतिक्रिया