प्रहरीले बेवारिसे कपडा र मोटरसाइकल नियन्त्रणमा लियो

...

राजविराज, असोज २२ गते  ।
सप्तरीको राजबिराज नगरपालिका–७, सखडा मोडस्थित सडकमा प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको एक मोटरसाइकल र ठूलो मात्रामा कपडालाई नियन्त्रणमा लिएको छ । घटना २०८१ असोज २२ गते राति करिब ३ बजे भएको हो । प्रहरी गस्ती टोलीले मधेश प्रदेश ०६–२०१५१९३४ नम्बरको सुपर स्प्लेंडर मोटरसाइकलमा लोड गरिएको २८ थान सुती साडी सहितको बोरालाई सडक किनारमा बेवारिसे अवस्थामा फेला पारेको थियो ।
प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा उक्त मोटरसाइकलमा संकास्पद सामग्री देखेपछि वरिपरिका स्थानियसँग सोधपुछ गरेको थियो । तर, स्थानीय बासिन्दाहरूले कसैले पनि ती सामग्रीहरूबारे दाबी नगरेपछि प्रहरीले ती वस्तुहरू नियन्त्रणमा लिएको हो । कपडा र मोटरसाइकल दुवै कुनै व्यक्तिको नाममा दर्ता नभएको र कुनै आपराधिक गतिविधिमा प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उक्त सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ । घटनाको विस्तृत अनुसन्धानपछि मात्र यी कपडाहरू तस्करीको परिणाम हुन् वा अन्य कारणले त्यहाँ पुगेका हुन् भन्ने स्पष्ट हुने बताइएको छ ।
सप्तरीका विभिन्न स्थानमा पछिल्लो समय तस्करी र गैरकानुनी कारोबारका गतिविधिहरू बढ्दै गइरहेको अवस्थामा, प्रहरीले गस्तीलाई कडा पार्दै यस प्रकारका घटनाहरूलाई नियन्त्रणमा लिने अभियान सञ्चालन गरिरहेको छ ।
 

प्रतिक्रिया