कञ्चनपुर, असोज २३ गते ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले तिरहुत गाउँपालिका–५, लोहजरा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै समाजको समुचित विकासका लागि सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । चुनावमा योग्य व्यक्तिलाई जिताएर समाजको समग्र विकासलाई अगाडि बढाउन आग्रह गर्दै मन्त्री साहले भने, “जनताले सही निर्णय गर्नुपर्ने बेला आएको छ, तपाईंहरूको निर्णयले मात्र हाम्रो समाजको भविष्य निर्धारण गर्न सक्छ ।”
मन्त्री साहले आफू जनताको सेवक भएको र सधैं जनताको हितका लागि समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरे । उनले थपे, “मन्त्रालयले महिला, बालबालिका, र जेष्ठ नागरिकको हक, हित, र सुरक्षाका लागि निरन्तर काम गर्दै आएको छ, र आगामी दिनहरूमा अझ प्रभावकारी नीति तथा कार्यक्रमहरू ल्याउछौं ।’’
दशैँ, तिहार, छठको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा स्थानीय समाजसेवी प्रकाश महतोले प्रमुख अतिथि मन्त्री साहलाई स्वागत गर्दै कार्यक्रमको महत्त्वलाई प्रस्ट पारे । महतोले भने, “त्यस्ता पर्वहरूले समाजमा एकता र सद्भावको सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।’’
कार्यक्रममा पत्रकार भोला पासवानले बाढी पहिरोका कारण धेरै जना दशैंमा घर आउन नसकेको बताउँदै २४६ जनाभन्दा बढी व्यक्तिहरुको बाढी पहिरोका कारण ज्यान गएको,दर्जनौं व्यक्तिहरु अझै हराई रहेको सयौं व्यक्ति घरबार विहीन भएको बेला सयमताका साथ दशैं मनाउन आग्रह गरे ।
कार्यक्रममा उपस्थित विभिन्न विशिष्ट व्यक्तिहरूले आ–आफ्नो मन्तव्य राख्दै समाजको विकास र एकताको आवश्यकतालाई उजागर गरे । रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराजका अध्यक्ष डाक्टर पशुपति चौधरीले भने, “स्वास्थ्य सेवामा सुधार ल्याउन हामी निरन्तर प्रयत्नशील छौं, र यो समाजको भलाइका लागि सबैले हातेमालो गर्नुपर्छ ।“
त्यस्तै, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामलखन मंडलले शिक्षा क्षेत्रको सुधारको लागि सबैको सहयोग आवश्यक रहेको र शिक्षकहरूलाई थप प्रोत्साहन दिनुपर्ने बताए । उनले भने, “बच्चाहरूको भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य छ, र यसका लागि समुदायको सक्रिय सहभागिता अनिवार्य छ ।’’
प्रकाश महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २५ जनालाई सम्मान पत्र प्रदान गरिएको थियो भने ३५ जना जेष्ठ नागरिकलाई गम्छा र अबिरले सम्मान गरेका थिए । जसपाका जिल्ला सदस्य चितरंजन यादबद्धारा संचालित कार्यक्रममा अनुराधा साह लगायतका अन्य समाजसेवीहरूले पनि मन्तव्य व्यक्त गरे । सबैले आ–आफ्नो क्षेत्रबाट समाजको हितमा योगदान दिन तत्पर रहेको बताएका थिए । कार्यक्रममा ५ सय भन्दा बढी स्थानीयहरुको सहभागिता रहेका थिए ।
प्रतिक्रिया