रूपनगर नन्दराज संग्रौला क्याम्पसको दीर्घकालीन रणनीतिस् गुणस्तरीय शिक्षा र शीप विकासमा जोड

...

रूपनगर, सप्तरी, आश्विन २३

सप्तरीको रूपनगरमा अवस्थित सामुदायिक शैक्षिक संस्था, नन्दराज संग्रौला क्याम्पसले दीर्घकालीन रणनीतिक योजनाका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै अघि बढ्ने घोषणा गरेको छ। आज आयोजित साधारण सभामा सार्वजनिक गरिएको पाँचवर्षे रणनीतिक योजनाले विद्यार्थीहरूलाई विश्वविद्यालयको पाठ्यक्रम अनुसार उच्चस्तरीय शिक्षा प्रदान गर्नुका साथै जीवन उपयोगी सीपहरू सिकाउने नीति अख्तियार गरेको छ।

क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले उक्त रणनीतिक योजना प्रस्तुत गर्दै, क्याम्पसले शीपमूलक तालिमहरू प्रदान गर्ने, वातावरण संरक्षणमा योगदान दिने, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिने, र प्रविधिको अधिकतम प्रयोग मार्फत अध्ययन–अध्यापनमा सुधार गर्ने योजना रहेको बताउनुभयो। उहाँले भने, 'योजना औपचारिक रूपमा आज सार्वजनिक गरिएको भए पनि, हामीले यस अनुसार एक वर्ष अघिदेखि नै कार्यान्वयन थालेका थियौं।'

साधारण सभाले तीनवर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति पनि चयन गरेको छ। गिरिराज संग्रौला अध्यक्ष रहनुभएको समितिमा देवी बहादुर खत्री, राज कुमार साह, रीता पोखरेल, ईश्वरी काफ्ले, सुरज पोखरेल र विभा कुमारी महतो सदस्यमा चयन हुनुभएको छ। क्याम्पस प्रमुख प्राध्यापक समितिको सदस्य सचिव हुने प्रावधान रहेको छ।

साधारण सभाको पहिलो सत्रको उद्घाटन राष्ट्रिय सभाका पूर्व सदस्य सुमनराज प्याकुरेलले गर्नुभएको थियो। उहाँले क्याम्पसलाई एक थान ल्यापटप उपहार दिनु हुँदै भन्नुभयो, 'तपाईंहरूको कक्षा कोठामा प्रविधिको प्रयोगको नीति सफल होस् भन्ने विश्वासका साथ यो ल्यापटप उपहार दिएको छु।'

कार्यक्रममा क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाको सभापतित्वमा शिक्षिका लक्ष्मी श्रेष्ठले २५ हजार रुपैयाँ क्याम्पसलाई सहयोग गर्नुभएको छ। कञ्चनरूप नगरपालिकाकी कार्यपालिका सदस्य सीता पौडेलले पाँच हजार पाँच सय रुपैयाँ सहयोग गर्नुभएको छ।

साधारण सभामा कञ्चनरूपका पूर्व नगर प्रमुख बसन्त मिश्र, पूर्व प्रधानाध्यापक तीर्थराज पोखरेल, आदर्श स्कूलका प्राचार्य ईश्वरी काफ्ले लगायतले सम्बोधन गर्नुभएको थियो।

समाचार स्रोत: रूपनगर क्याम्पस फिचर सेवा

प्रतिक्रिया