कञ्चनपुर बजारमा सडक दुर्घटनामा घाइते रामदेव साफीको मृत्यु

...

कञ्चनपुर, कार्तिक २ गते – कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित बजारमा भएको मोटरसाइकल दुर्घटनामा घाइते ६५ वर्षीय रामदेव साफीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ। मंगलबार दिउँसो १ः३० बजे लु.०१—००२६ प—३३७१ नम्बरको मोटरसाइकलले दक्षिणबाट उत्तरतर्फ जाँदै गर्दा रामदेवलाई ठक्कर दिएको थियो, जसका कारण उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घटनालगत्तै, गम्भीर अवस्थामा रहेका रामदेवलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको टाउकोमा शल्यक्रिया (अप्रेशन) गरिएको थियो। चोट गम्भीर भएकोले शल्यक्रियापछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

रामदेव साफी कञ्चनपुर बजारमा आइरनको पसल सञ्चालन गर्दै आएका थिए। दुर्घटनामा संलग्न मोटरसाइकल चालक सबिन्द्र प्रसाद साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेका छोरा प्रकाश साफीले मोटरसाइकल धनीले उपचार खर्च व्यहोर्ने आश्वासन दिए पनि पैसा नतिरेको कारण ऋण उठाएर अस्पतालबाट शव ल्याउनुपरेको बताए। यदि साँझसम्म शव आएमा आजै दाहसंस्कार गर्ने योजना रहेको प्रकाशले जानकारी दिए।

प्रतिक्रिया