सप्तरीको कञ्चनरुप नगरपालिका–१ निवासी सुमित पण्डितको मंगलबार बिहान ८:३० बजे उपचारको क्रममा मृत्यु भएको छ। दुई दिनअघि पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–२, बरमझियामा यात्रुबाहक बसले पण्डितलाई ठक्कर दिएको थियो। ठक्करका कारण २५ वर्षीय पण्डित गम्भीर घाइते भएका थिए, र उनलाई विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि लगिएको थियो।
यसै दुर्घटनामा सप्तरीको बरमझियामा आइतबार बिहान करिब ६:३० बजे बस र मोटरसाइकल ठोक्किँदा धनकुटा सागुगढी गाउँपालिका–४ की ५४ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको थियो। गाईघाटबाट काँकडभिट्टा जाँदै गरेको बस (प्र.१-०१-००१ ख ४१२६) र विपरित दिशाबाट आएको मोटरसाइकल (स.५ प.१५९३) ठोक्किँदा बस अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको छ। अन्य १८ जनाको सप्तरीको धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी निरीक्षक सुरेन्द्र नेपालीको टोलीले उद्धार कार्य गरेका थिए।
प्रतिक्रिया