राजविराज, कार्त्तिक १२ गते ।
अवैध व्यापार र कानूनी कारवाहीका क्रममा सप्तरी प्रहरीले ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साईन र हनुमाननगरबाट खटिएका प्रहरी टोलीले दुई फरक घटनामा २१ लाख १३ हजार १०० रुपैयाँ बराबरको कपडा र एक कारसहित एक जनालाई पक्राउ गरेको तथा २४ फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, कात्तिक ११ गते साँझ करिब २०ः०० बजे इलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटिएको टोलीले सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ३, गौरा थान नजिक भारतको लौकहीबाट राजविराजतर्फ आउँदै गरेको गाडीलाई चेकजाँच गरेको थियो । गाडीको नम्बर प्र.३–०१–०२३ च ८०२५ रहेको क्भ्ीत्इक् कारलाई रोकी जाँच गर्दा, २४ वर्षीय सनाबुल मियाँले चलाएको उक्त गाडीमा भन्सार छलि गरी चोरी पैठारी गरिएको कपडा भेटियो । नियन्त्रणमा लिइएको कपडाको मूल्य करिब २१ लाख १३ हजार १०० रुपैयाँ रहेको छ । कपडा र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीको जानकारी छ ।
त्यस्तै, कात्तिक ८ गते राति करिब २१ः३० बजे इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको अर्को टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. २, सखैरदही क्षेत्रमा अवैध रूपमा भन्सार छलि गरी ल्याइएको २७ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो । गस्तीका क्रममा प्रहरीलाई देखेर मानिसहरू फरार भएपछि प्रहरीले उक्त स्थानमा छोडिएका बोराहरू जाँच गर्दा कपडा फेला परेको हो । नियन्त्रणमा लिइएको कपडा पनि भन्सार कार्यालयमा बुझाइएको छ ।
यसबाहेक, कात्तिक ११ गते प्रहरी टोलीले विभिन्न कानूनी मुद्दामा फरार रहेका २४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । तीमध्ये केही चोरी, कुटपिट, शिक्षा सम्बन्धी मुद्दा, लेनदेन र जलसादी जस्ता विषयमा अदालतबाट फैसला पाएको तर लुकीछिपी बसिरहेका थिए । पक्राउ परेका सबैलाई सप्तरी जिल्ला अदालत, राजविराजमा पेस गरी कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।
नियन्त्रणमा परेका प्रतिवादीहरूमध्ये कतिपयलाई कैद सजाय तोकिएको छ भने अन्यलाई जरिवाना तिराइनेछ । जरिवानाको कुल रकम २९,६९३ रुपैयाँ ३३ पैसा बराबर रहेको जनाइएको छ ।
प्रहरीको यस सक्रियता अपराध नियन्त्रणमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । अवैध सामानको तस्करी तथा फरार अपराधीहरूको नियन्त्रणका लागि प्रहरीले निरन्तर कारवाही जारी राख्ने बताएको छ ।
प्रतिक्रिया