कञ्चनपुर, कार्तिक १४ गते - सप्तरीको कञ्चनरुप नगरपालिका–८ निवासी, हाल जिल्ला प्रहरी कार्यालय उदयपुरको लालपत्तामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सुबिन कुमार साह २०८१ भदौ महिनाका लागि ‘पुलिस अफ द मन्थ’ उपाधिबाट सम्मानित भएका छन्। गृह मन्त्रालयले निर्देशित मापदण्डका आधारमा साहलाई उत्कृष्ट कार्य सम्पादन गरेबापत यो सम्मान प्रदान गरिएको हो।
सई साहले विभिन्न मितिमा अवैध लागुऔषध नियन्त्रण, भन्सार छली सामान जफत, र आपराधिक गतिविधिहरूमा संलग्न अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउने कार्यमा सक्रियता देखाएका छन्। उनले हालसम्म जम्मा ३३० एम्पुल प्रतिबन्धित औषधि र कोरेक्स १ बोतल, नाइटाभेट ६० ट्याब्लेट सहित ९ जना अभियुक्तलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढाएका छन्। अवैध रूपमा भन्सार छली गरी ल्याइएको पिकअप गाडी र करिब ११ लाख ३४ हजार बराबरको सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउन सफल भएका छन्।
उनले बिना बिलको ४८ हजार बराबरको विषादी ६ कार्टुन र २१ हजार बराबरको अटो मोटर पार्ट्स नियन्त्रणमा लिएका छन्। साथै, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखी सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी ढंगले सञ्चालन गरेका छन्। यसै क्रममा, उनका प्रयासहरूले विभिन्न आपराधिक गतिविधिहरूमा संलग्न अभियुक्तहरूलाई नियन्त्रणमा लिने कार्यमा सफलता प्राप्त गरेको छ।
प्रहरी नायब निरीक्षक साहको सक्रियता र प्रतिबद्धताले उदयपुर जिल्लामा शान्ति सुरक्षाको वातावरण थप सुदृढ बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय, उदयपुरले उनको कार्यको प्रशंसा गरेको छ। यस उपलब्धिको सम्मानस्वरूप जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले प्रमाणपत्र प्रदान गरी उनलाई सम्मानित गरेका छन्।
प्रतिक्रिया