चाडपर्वमा शान्ति र अनुशासन कायम राख्न सप्तरी प्रशासनको निर्देशन

...

सप्तरी, कार्तिक १५ - जिल्ला प्रशासन कार्यालय, सप्तरीले तिहार, छठ, र नेपाल सम्बत ११४५ को अवसरमा सम्पूर्ण जिल्ला वासीलाई हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वका बेला शान्ति, सुरक्षा, र अनुशासन कायम राख्न विशेष आग्रह गरेको छ। प्रशासकीय अधिकृत जितेन्द्र पासवानद्वारा जारी सूचनामा चाडपर्वको समयमा हुने भीडभाड, मादक पदार्थको दुरुपयोग, र अशान्ति फैलाउने गतिविधिहरूलाई नियन्त्रण गर्न प्रशासनले कडा कदम चाल्ने बताइएको छ।

प्रशासनले देउसी-भैलो र नाचगानजस्ता सांस्कृतिक कार्यक्रमहरू राति १० बजेपछि नगर्न आग्रह गरेको छ। साथै, मादक पदार्थ सेवन, जुवा तास, र भिडभाडजन्य गतिविधि नगर्न निर्देशन दिँदै, अस्वास्थ्यकर खाद्य तथा प्लास्टिकजन्य फूलमालाको बिक्री वितरणमा रोक लगाएको छ।

प्रशासकीय अधिकृत पासवानले चाडपर्वहरूलाई सामाजिक सद्भाव र परम्परागत एकताको प्रतीक बनाउन सबैलाई सहयोगको अपिल गर्दै भने, "शान्ति र सहकार्यका साथ चाडपर्व मनाऔं, अनुशासन र सभ्यताको पालना गरौं।"

जिल्ला प्रशासनले चाडपर्वको समयमा सुरक्षालाई उच्च प्राथमिकता दिँदै सबैसँग सहयोगको अपेक्षा राखेको छ।

प्रतिक्रिया