सप्तरीमा प्रहरीको सक्रियता : ६६ फरार पक्राउ, ४६ लाख राजस्व संकलन

...

राजविराज, कात्तिक २४ गते — जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रमुख चाडपर्व दशैँ, तिहार र छठलाई सुरक्षित र व्यवस्थित बनाउन ७४१ प्रहरी परिचालन गरेको जनाएको छ। मधेश प्रदेश प्रहरी कार्यालयले सुरक्षालाई मजबुत बनाउन यो कदम चालेको हो। साथै, चालु आर्थिक वर्षको एक महिनामा ६६ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिनुका साथै अवैध भन्सारबाट रु. ४६ लाखभन्दा बढी राजस्व संकलन गरेको उल्लेखनीय सफलता पनि प्रहरीले हासिल गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार, चालु आर्थिक वर्षको असोज १६ सम्म ७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिइएको थियो भने त्यसपछिको अवधिमा असोज १७ देखि हालसम्म थप ६६ जना फरार प्रतिवादी पक्राउ गरिएका छन्।

कैद र जरिवाना असुली :

प्रहरीले अपराध नियन्त्रणसँगै कैद सजाय र जरिवाना असुली कार्यमा पनि प्रगति हासिल गरेको छ। असोज १६ सम्ममा २३ महिना ८ दिन कैद कार्यान्वयन गरिएकोमा, पछिल्लो अवधिमा थप ४ वर्ष २ महिना ११ दिन कैद कार्यान्वयन भएको छ। त्यस्तै, असोज १६ सम्म रु. ५९,००० जरिवाना संकलन गरिएकोमा, हालसम्म जम्मा रु. ३,३१,८६१।३३ जरिवाना असुल गरिएको छ।

अवैध भन्सार नियन्त्रण र राजस्व संकलन :

अवैध भन्सार छली नियन्त्रणमा पनि सप्तरी प्रहरीले महत्वपूर्ण प्रगति गरेको छ। असोज १६ सम्म रु. १९,६७,६३५ भन्सार राजस्व संकलन गरिएको थियो भने त्यसपछिको अवधिमा थप रु. ४६,६९,६३५ संकलन गरिएको छ। प्रहरीको यो अभियानमा १० व्यक्तिसहित ७ मोटरसाइकल, १ कार, १ ई–रिक्सा र ७ साइकल जफत गरिएको छ।

आगामी योजना :

प्रहरीले आगामी दिनमा प्रचलित ऐन–कानून र नेपाल प्रहरीको कार्ययोजना २०८१–८२ अनुसार अपराध नियन्त्रण र कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउने योजना बनाएको छ। प्रहरी प्रमुख खतिवडा सप्तरीमा आउँदा जिल्लामा प्रहरीको साख पुनःस्थापित गर्न, खुला तस्करी नियन्त्रण, सम्भावित अपराध रोकथाम, र सेवा प्रवाह सुधारका लागि सबै क्षेत्रका अगुवाहरूसँग समन्वय र अन्तर्क्रिया बढाउँदै छन्।

प्रहरीको यो सक्रियता र उपलब्धिले जिल्लाका सर्वसाधारणलाई सुरक्षित र अपराधमुक्त वातावरणमा चाडपर्व मनाउने अवसर प्राप्त भएको छ।

प्रतिक्रिया