मधेशी अपाङ्गता आन्दोलनमा सशक्त सहभागिताको आह्वान, समाजिक अभियन्ता भोला पासवानलाई सम्मान

...

जनकपुरधाम, कार्त्तिक २५ गते  ।
‘‘अपाङ्गता भित्रको विविधताको सम्मानः मधेशी अपाङ्गता भएका व्यक्तिहरुको पहिचान’’ भन्ने नारासँगै प्रदेश स्तरीय दुई दिने कार्यशालाको उद्घाटन गर्दै समाजिक अभियन्ता भोला पासवानले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र सामाजिक समानताका लागि राज्यले बनाएका नीतिहरूको प्रभावकारी कार्यान्वयन र थप नीतिहरूको निर्माणका लागि पालिकास्तरबाट संगठित हुनुपर्नेमा जोड दिएका छन् ।
समाजिक अभियन्ता पासवानले अपाङ समाज जनकपुरको आयोजनामा भएको कार्यशालालाई सम्बोधन गर्दै भने, “मधेशी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समृद्धिका लागि राज्यको नीतिहरूको कार्यान्वयन अत्यन्त आवश्यक छ । पालिकास्तरबाट संगठित भएर मात्र हामी प्रभावकारी ढंगले हाम्रो अधिकारका लागि संघर्ष गर्न सक्छौं ।”
कार्यशालामा समाजिक अभियन्ता पासवानले मधेशी दलितहरूले समाज परिवर्तनका लागि गरेको योगदानमा विशेष ध्यानाकर्षण गराउँदै, जनआन्दोलन, मधेश आन्दोलन र सशस्त्र जनयुद्धमा दलितहरूको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रमको दौरान, समाजिक अभियन्ता पासवानलाई दातृ संस्था डिसेबिलिटी राइट्स फण्ड (म्च्ब्ँ) का नेपाल प्रमुख कृष्ण गहतराज र अपाङ्ग समाज जनकपुरका अध्यक्ष सत्रुघन लाल कर्णले गम्छा र समान पत्रमार्फत सम्मानित गरे ।
कार्यशालाको उद्घाटन सत्रमा दातृ संस्था डिसेबिलिटी राइट्स फण्ड (म्च्ब्ँ) का नेपाल प्रमुख कृष्ण गहतराजले मधेशी अपाङ्गता भएका व्यक्तिहरूको अवस्था पहाडका अपाङ्गता भएका व्यक्तिहरूसँग तुलनामा अझ दयनीय रहेको बताउँदै, “उनीहरूलाई आफ्नो अधिकार प्राप्तिका लागि संगठित भएर संघर्ष गर्न आवश्यक छ,” भने । उनले मधेशी अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारको लागि एकजुट भएर आन्दोलन सुरु गर्न आग्रह गरे ।
उद्घाटन सत्रमा प्रशिक्षक प्रतिमा गुरुङले मधेशी अपाङ्गता अधिकारका लागि सक्रिय भएर काम गर्न अनुरोध गर्दै, “हामीले अधिकारका लागि हाम्रो आवाज उठाउन नअल्झी, सबै जनतालाई सशक्त बनाउनका लागि काम गर्नु आवश्यक छ,” भनिन् ।
कार्यशालामा अपाङ्ग समाज जनकपुरका अध्यक्ष सत्रुघन लाल कर्णले मधेशी अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई राष्ट्रिय अपाङ्ग महासंघको बिधानमा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको लागि एकजुट भइ संघर्ष गर्नुपर्ने कुरा जोड दिए ।
“जनआन्दोलन र मधेश आन्दोलनमा घाइते भएकाहरू मध्ये धेरै अपाङ्ग भएका व्यक्तिहरू अहिले कष्टपूर्ण जीवन बाँचिरहेका छन्, तर राज्यले अझै तिनीहरूको अधिकारलाई सम्बोधन गर्न सकेको छैन,” कर्णले भने, “हामी सबै मिलेर अब मधेशी अपाङ्गता भएका व्यक्तिहरूका लागि सशक्त आन्दोलनको शुरुवात गर्नेछौं ।”
कार्यशालामा राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमान लगायत विभिन्न अपाङ्गता आन्दोलनमा सक्रिय संस्थाका पदाधिकारीहरू र अपाङ्ग समाज जनकपुरका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
यस कार्यशालाले मधेशी अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र समस्याहरूलाई उठाउँदै, आगामी दिनहरूमा प्रभावकारी संघर्षका लागि तयारी गर्ने वातावरण सिर्जना गरेको छ ।
 

प्रतिक्रिया