कञ्चनपुर,कार्तिक ३० गते । कञ्चनरुप नगरपालिका वडा नं। १ मा सम्पन्न जनमत पार्टीको दोस्रो वडा अधिवेशनबाट निर्वाचित विभिन्न तहका नेता र कार्यकर्ताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका छन्। शुक्रबार जारी गरिएको विज्ञप्तिमा उनीहरूले पार्टी नेतृत्वले बहुमतको कदर नगरेको र कार्यकर्ताहरूको सही मूल्यांकनमा असफल भएको कारण देखाउँदै पार्टी परित्याग गर्ने निर्णय गरेको जनाएका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार, पार्टीका नेता तथा कार्यकर्ताहरूले जनमत पार्टीको संगठनमा बहुमतले दिएका निर्णयहरूको उचित सम्मान र मूल्यांकन नपाएको गुनासो गरेका छन्। यसका साथै, पार्टीका नीतिहरू कार्यकर्ताहरूको भावनासँग मेल नखाएको तथा स्थानीय तहमा योगदान दिने कार्यकर्ताहरूलाई उचित सम्मान नदिइएको भन्दै उनीहरूले सामूहिक रूपमा पार्टी छोडेको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्ने प्रमुख नेताहरूमा अनिल कुमार पंजियार ( पूर्व नगर अध्यक्ष, हाल जिल्ला कमिटी सदस्य),रामदेव शर्मा ( वडा अध्यक्षका प्रत्याशी, वडा अध्यक्ष तथा नगर सहसचिव),बिमला देवी मण्डल ( वडा उपाध्यक्ष),रेशमलाल साह ( वडा कमिटी उपाध्यक्ष),विशेश्वर महतो ( वडा कमिटी सचिव),भुवनेश्वर सदा ( सदस्य),मुनेश्वरी देवी खंग ( सदस्य),शिबु यादव ( सदस्य),दिलीप कुमार राउत ( सदस्य),सम्पैतलाल मंडल ( युवा समिति अध्यक्ष कञ्चनरुप १),विषेश्वर खंग ( बुथ समिति संयोजक,रामचन्द्र मण्डल ( बुथ कमिटी सह संयोजक),चन्द्रिका देवी खंग ( महिला प्रचार(प्रसार समिति वडा संयोजक),प्रमेश्वर खंग ( युवा समिति सदस्य )सामूहिक रूपमा विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेका यी नेता तथा कार्यकर्ताहरूले जनमत पार्टीभित्रको असन्तोषको स्थितिबारे जानकारी गराउँदै पार्टीका नीतिहरू र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
विज्ञप्तिमा तल्लो तहका कार्यकर्ताहरूको आवाजलाई सुन्ने र सम्मान गर्ने वातावरण नबनेसम्म पार्टीको आन्तरिक संरचनामा सुधार नहुने धारणा पनि व्यक्त गरिएको छ। अहिलेको यो निर्णयले जनमत पार्टीलाई स्थानीय तहमा झटका पुग्ने सम्भावना रहेको बताइँदैछ। यस सामूहिक राजीनामाले पार्टीको संगठनात्मक संरचनामा चुनौती उत्पन्न गरेको छ भने स्थानीय स्तरमा जनमत पार्टीको स्थायित्व र विश्वासमा पनि असर पर्न सक्ने देखिएको छ।
प्रतिक्रिया