कञ्चनपुर, मंसिर १ गते ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले युवा विद्यार्थीलाई देशको भविष्य भन्दै अनुशासन पालन र महत्वपूर्ण विषयहरूको ख्याल गर्न आग्रह गरेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित मिथिला होटेल एन्ड पार्टी प्यालेसको सभाहलमा शनिबार आयोजित “सुरक्षा र विपद् सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम“लाई सम्बोधन गर्दै मन्त्री लेखीले यस्तो धारणा व्यक्त गरे ।
उनले विद्यार्थीलाई अनुशासन, शिक्षा र जीवनका सकारात्मक पक्षमा ध्यान दिन प्रेरित गर्दै भने, “तपाईंहरूको सफलताका लागि मैले यो कार्यक्रम आयोजना गरेको छु । मलाई आशा छ, तिमीहरूले यहाँबाट केही नयाँ कुरा सिक्नेछौ ।”
कार्यक्रममा सप्तरी जिल्ला प्रहरी कार्यालयका एसपी ढकेन्द्र खतिवडाले लागू औषधको दुर्ब्यसनले मानिसमा पर्ने शारीरिक र मानसिक प्रभावबारे विद्यार्थीलाई सचेत गराए । उनले मुख गन्हाउने, पाचन प्रणालीमा समस्या हुने, सानो आन्द्रा सुक्ने, रक्त सञ्चारमा गडबडी आउने, कलेजो र मस्तिष्कमा क्षति पु¥याउने लगायतका असरहरूको उल्लेख गरे ।
उनले साइबर अपराध, लागू औषध दुर्व्यसनका चरणहरू र यसको दीर्घकालीन असरबारे पनि प्रशिक्षण दिए ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन समुदायस्तरमा जागरुकता आवश्यक रहेको बताए । उनले प्राकृतिक तथा मानव–निर्मित विपद्का समयमा समुदायले अपनाउनुपर्ने तयारी र सुरक्षा उपायबारे प्रशिक्षण दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विभिन्न विद्यालयका शिक्षक–प्रधानाध्यापक, विद्यार्थी र नागरिक समाजका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
सुरक्षा रणनीति र विपद् व्यवस्थापनका विभिन्न पक्षमा छलफल गरी अनुभव आदान–प्रदान गरिएको थियो ।
यस प्रकारका कार्यक्रमले विद्यार्थी, शिक्षक र समाजका अन्य सदस्यहरूमा अनुशासन, जिम्मेवारी र सामाजिक सचेतनाको भावना बढाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया