कञ्चनपुर, मंसिर २ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–१ स्थित श्री लक्ष्मी नारायण माध्यमिक विद्यालय कक्षा ११ र १२ को पठनपाठन करिब सात महिनादेखि ठप्प रहेको छ ।
विद्यालयका अनुसार, कक्षा बन्द हुनुको मुख्य कारण विद्यार्थीहरूको अत्यन्त कम उपस्थिति र नियमित पठनपाठनको अभाव हो । विद्यालयका प्रधानाध्यापक चन्देश्वर मण्डलले भने, “विद्यार्थीहरूको उपस्थिति न्यून मात्रामा छ ।“
कक्षा ११ मा ३० जना विद्यार्थीले नाम दर्ता गराएका थिए, तर तीमध्ये २५ जना “स्लिपिङ कोर्स“ का विद्यार्थी हुन् । यस्ता विद्यार्थीले औपचारिक रूपमा नाम लेखाए पनि विद्यालयमा नियमित रूपमा उपस्थित हुँदैनन् । पढ्न आउने नियमित विद्यार्थी ५ जना मात्र भए पनि तिनीहरूको समेत उपस्थिति निरन्तर छैन ।
कक्षा १२ मा स्थिति झन् गम्भीर रहेको प्रधानाध्यापक मण्डलले जनाए । उनका अनुसार, १०० जना विद्यार्थीले नाम दर्ता गराएका भए पनि सबै “स्लिपिङ कोर्स“ मा छन्, र कुनै पनि विद्यार्थी नियमित रूपमा विद्यालयमा उपस्थित छैनन् ।
विद्यालयका शिक्षक हिरु पौडेलका अनुसार, स्थानीय विद्यार्थीहरू एसईई उत्तीर्ण गरेपछि बजार क्षेत्र वा शहरी विद्यालयमा भर्ना हुने प्रवृत्ति बढेको छ । उनका अनुसार, दुर्गम क्षेत्रमा अवस्थित यस विद्यालयप्रति विद्यार्थीहरूको आकर्षण घट्दै गएको छ ।
उनले भने, “विद्यार्थीहरू सुविधा सम्पन्न विद्यालय र शहरको वातावरणमा पढ्न रुचाउँछन् । यसले गर्दा स्थानीय विद्यालयहरूको पठनपाठनमा नकारात्मक प्रभाव परेको छ ।“
पौडेलले “स्लिपिङ कोर्स“ मा नाम दर्ता गर्ने प्रवृत्तिले विद्यालयको शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर परेको बताएका छन् । उनका अनुसार, यस्ता विद्यार्थीले केवल प्रमाणपत्र प्राप्त गर्न विद्यालयमा नाम लेखाउँछन्, तर पढाइप्रति गम्भीर छैनन् ।
विद्यालयमा पठनपाठन पुनःसंचालनका लागि विद्यार्थीको उपस्थिति बढाउने र “स्लिपिङ कोर्स“ जस्ता समस्या रोक्न स्थानीय निकाय र समुदायको पहल आवश्यक छ । यसले मात्रै विद्यालयको शैक्षिक वातावरण सुधार गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया
राम नारायण यादव
२0८१ मंसिर २ गते १२:५७
शिक्षक ले एक बर्ष मा ६महिना पनि पढाउनु पर्नेमा पढादैन ।कम्जोर छात्र लाई कोचिङ class गरौदैन।स्कुल को अध्यक्ष निस्पक्ष कठोर छैन ।शिक्षक ,अध्यक्ष राजनीति गर्छ।शिक्षक स्थानीय हुनु हुदैन ।शिक्षक को बास स्थान स्कुल भित्रै राख्नु पर्छ ।परिक्षा को परिणाम अनुसार शिक्षक को मुल्यांकन गर्नु पर्छ ।अनुपस्थित हुने,राजनीति तिर अग्रसर रह्ने शिक्षक को तलब रोक्ने ।
जवाफ दिनुहोस्