कञ्चनपुर,मंसिर ५ गते ।
विश्व बाल दिवसको अवसरमा कञ्चनरुप नगरपालिका–८ स्थित बाल बोध माध्यमिक विद्यालयले विद्यार्थीहरूको बौद्धिक र शारीरिक विकासका लागि विशेष ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ। प्रतियोगिता कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूका लागि छुट्टा-छुट्टै समूहमा सञ्चालन गरिएको थियो।
कक्षा ९ र १० का १४ टिमले सहभागिता जनाएको समूहमा कक्षा ९ का भास्कर यादव र राघव याखबको टीमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । कक्षा ७ र ८ का १२ टिमले भाग लिएको समूहमा कक्षा ८ का आलोक साह र अनिल साहको टीम विजयी बनेका छन्।
प्रतियोगिता कञ्चनरुप–२, बरमझियास्थित कबड हलमा सम्पन्न भएको थियो। विजेता खेलाडीहरूलाई विद्यालयका शिक्षक गौतम कुमार शरणले मेडल र शिल्ड प्रदान गर्दै उनीहरूको मेहनतको प्रशंसा गरे।
विद्यालयले यस प्रतियोगिताको आयोजना विद्यार्थीहरूको बौद्धिक तथा शारीरिक क्षमताको विकासका लागि गरेको जनाएको छ। यस्तो प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गराउनुका साथै सहकार्य र नेतृत्व विकासको अवसर प्रदान गर्ने विद्यालय प्रशासनले विश्वास व्यक्त गरेको छ।
प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। खेलकुदले शिक्षा मात्र नभई विद्यार्थीहरूको सम्पूर्ण व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विद्यालयले जनाएको छ।
कार्यक्रम विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको थियो।
प्रतिक्रिया