कञ्चनपुर, मंसिर ८ गते ।
शम्भुनाथ नगरपालिकामा “दिगो शहरी विकास समन्वय“ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार थारु फूलबारी, महुलीमा दलित सरोकार मञ्च नेपालको आयोजनामा तथा पुरक एसियाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाको विकाससँग सम्बन्धित विविध विषयमा सरोकारवालाहरूबीच गहन छलफल गरिएको थियो । नगरविकासका प्राथमिकता, समसामयिक समस्याहरू र समाधानका उपायहरूबारे सहमति निर्माण गर्न समन्वय आवश्यक रहेको दलित सरोकार मञ्च नेपालका प्रोग्राम अफिसर मनिश कोईरालाले कार्यक्रममा उल्लेख गरे ।
दलित सरोकार मन्छ नेपालका कार्यकारी निर्देशक भोला पासवानले दिगो शहरी विकाससम्बन्धी योजनाहरूका प्राथमिक क्षेत्रहरूबारे सहभागीहरूलाई जानकारी गराए । ती योजनामा शहरी पूर्वाधार सुधार, कृषि र उद्यमशीलता प्रवर्द्धन, डिजिटाइजेशन, सार्वजनिक सेवा प्रवाहमा सुधार, सामुदायिक सहभागिता, र लैङ्गिक तथा जातीय न्याय प्रवर्द्धनका विषय समेटिएका थिए ।
कार्यक्रममा शम्भुनाथ नगरपालिकाका प्रमुख देव नारायण शाहले नगर यातायात, शान्ति, दिगो आवास, विपद् व्यवस्थापन, र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । उनले सार्वजनिक यातायातको विकासलाई नगरको मेरुदण्डका रूपमा हेर्नुपर्ने बताउँदै यसको प्रभावकारी सञ्चालनका लागि उचित मापदण्ड तयार गर्नुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै, नगरपालिकाका स्थानीय प्रतिनिधिहरूले निर्माणकार्य, अनुगमन, र पारदर्शिताका विषयमा ध्यानाकर्षण गराए । स्थानीय जामुन प्रसाद चौधरीले निर्माणकार्यको अनुगमन गर्न टोली गठन गरी प्रगति प्रतिवेदन तयार पार्नुपर्ने सुझाव दिए । कार्यवाहक मेयर अनिता कुमारी चौधरीको नेतृत्वमा वार्ड अध्यक्ष र कार्यपालिका सदस्यहरूको बैठक आयोजना गरी योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बाल विवाहजस्ता सामाजिक मुद्दाको पनि चर्चा भयो । वडा नं. ७ का अध्यक्ष गोपाल प्रसाद चौधरीले बाल विवाहले शारीरिक, मानसिक, र सामाजिक रूपमा बालबालिकाको भविष्यलाई प्रभावित पार्ने भन्दै यस समस्याको समाधानका लागि सशक्त कानून र जनचेतना आवश्यक रहेको बताए ।
कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न समन्वयको आवश्यकता र महत्त्वलाई उजागर गर्दै नगरपालिकाको समग्र विकासमा योगदान पु¥याउने विश्वास गरिएको दिपक गजुरेलले बताए ।
प्रतिक्रिया