कञ्चनपुर,मंसिर १० गते । कञ्चनरुप नगरपालिकाको रुपनगर चौकदेखि कञ्चनपुर बजारसम्मको मुख्य सडकमा सडक बत्ती नहुँदा साँझपख सडक पूरै अन्धकारमा डुब्ने गरेको छ। यसले यातायातका साधन र पैदल यात्रुहरूलाई असुविधा पुर्याउनुका साथै सुरक्षा चुनौतीसमेत बढाएको छ।
स्थानीय युवाहरूले बारम्बार नगरपालिकासँग समन्वय गरे पनि समस्याको समाधान हुन सकेको छैन। स्थानीय युवा प्रजिवन प्रधानका अनुसार दशैं र तिहारअघि नै बत्ती जडानका लागि नगरपालिकासँग पहल गरिएको थियो। तर, कुनै चासो नदेखाइएपछि स्थानीयहरू निराश भएका छन्। प्रधानले भने, "हामी नगरपालिकाका जनता नै होइनौं जस्तो महसुस भएको छ। बत्ती आफैं चन्दा उठाएर जडान गर्दा पनि विद्युत प्राधिकरणले अनुमति नदिँदा थप समस्या उत्पन्न भएको छ।"
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै नगरपालिकाको विकासप्रतिको उदासिनतालाई उजागर गरेका छन्। पोस्टमा उनले उल्लेख गरेका छन्, "हाम्रो कञ्चनपुर र रुपनगर वडाबाट बनेको नगरपालिकामा देखिएको विकासको एउटा झलक हेर्नुहोस्।"
अन्य स्थानीयहरूले पनि आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। अनिल ज्योति श्रेष्ठले फेसबुकमा लेखेका छन्, "स्थानीय सरकारले बजार क्षेत्रमा मात्र बत्ती हाल्ने काम गरेको छ, गाउँतर्फ भने बेवास्ता गरिएको छ।" उनले आफ्नो घरअगाडिको खम्बामा निजी खर्चमा राखिएको बत्ती विद्युत प्राधिकरणले काटिदिएको आरोप पनि लगाए।
उनले थप भने, "मेरो घरअगाडिको खम्बामा रु। २,५०० खर्च गरेर बत्ती राखेको थिएँ। प्राधिकरणले काटिदिनु मात्र होइन, खोल्नका लागि लैजान खोजेको थियो। मेरो प्रतिवादपछि मात्र उनीहरू रोकिए।"
स्थानीयहरूको गुनासो छ कि गाउँले क्षेत्रहरूमा समेत सडक बत्ती जडानका लागि नगरपालिकाले प्राथमिकता दिनुपर्छ। "गाउँ-गाउँमा सिंहदरबार पुगेको भनिन्छ, तर यथार्थमा गाउँतिर विकासको कुनै रेखा छैन," स्थानीयहरू भन्छन्।
सडक बत्तीको समस्याले नगरपालिकाको समग्र विकासप्रतिको दृष्टिकोणप्रति प्रश्न उठाएको छ। यसले तत्काल समाधानका लागि प्रभावकारी कदम चाल्न नगरपालिकाको ध्यान आकृष्ट गराउन आवश्यक देखिन्छ।
प्रतिक्रिया