कञ्चनपुर, मंसिर ११ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गत रहेका ३३ वटा सामुदायिक विद्यालयमध्ये दुई विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरू गरेका छन् । कञ्चनरुप–८ स्थित सर्वोदय माध्यमिक विद्यालय र पब्लिक आधारभूत विद्यालय कञ्चनपुरले अंग्रेजी माध्यममा अध्ययन–अध्यापन सुरू गरेका हुन् ।
सर्वोदय माध्यमिक विद्यालयले पहिलोपटक अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरेको हो भने त्यसपछि पब्लिक आधारभूत विद्यालय कञ्चनपुरले सो पहललाई पछ्याएको छ । पब्लिक आधारभूत विद्यालयका प्रधानाध्यापक बिजेन्द्र शर्माका अनुसार विद्यालयले २०८१ साल असारदेखि कक्षा १ र ५ मा अंग्रेजी माध्यममा पठनपाठन सुरू गरेको छ । उनले २०८२ सालमा कक्षा १, २, ५ र ६ सम्म अंग्रेजी माध्यममा पठनपाठन विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
प्रधानाध्यापक शर्माले विद्यालयलाई भविष्यमा माध्यमिक विद्यालय बनाउने लक्ष्य रहेको उल्लेख गर्दै विद्यालयमा गणित र अंग्रेजी विषयको शिक्षक अभाव रहेको बताए । उनले चार वर्षदेखि विद्यालयमा दरबन्दी खाली रहेकोमा गुनासो गर्दै स्थानीय सरकार र सरोकारवाला निकायले यस विषयमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । तर, शिक्षक अभाव जस्ता समस्या समाधान नभएसम्म यस पहलले पूर्णरूपमा प्रभावकारीता हासिल गर्न नसक्ने शिक्षाविद्हरूको भनाइ छ ।
प्रतिक्रिया