कञ्चनपुर, मंसिर १२ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा वृद्ध भत्ता समयमै नपाउँदा स्थानीय वृद्धहरू समस्यामा परेका छन् । वडा नम्बर १, २, ३, र ४ का जेष्ठ नागरिकहरूले भत्ता पाउन ४२ दिनभन्दा लामो समयदेखि बैंक धाइरहे पनि रकम उपलब्ध नगरिएको गुनासो गरेका छन् ।
वडा नम्बर १ का गर्भी पंजियारका अनुसार चालु आर्थिक वर्षको पहिलो किस्ताको भत्ता कार्तिक पहिलो साता प्राप्त हुनुपर्नेमा अहिलेसम्म पाउन सकेका छैनन् । उनले भने, “४२ दिनदेखि बैंकमा धाइरहेका छौं । हिजोमात्र नगर प्रमुख ललन प्रसाद गुप्तालाई फोन गरेर समस्याबारे जानकारी गराएँ । उहाँले रकम बैंकमा पुगेको बताएर आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।
स्थानीयहरूले समस्याको जड नगरपालिकाको बैंकहरूसँगको समन्वय अभाव रहेको बताएका छन् । सिटीजन बैंक कञ्चनरुप शाखाका प्रमुख पारस चौधरीले भने, “नगरपालिकाले एक वर्षदेखि समन्वय नगरी रकम पठाउँदै आएको छ । समन्वय भएको भए भत्ता वितरण व्यवस्थित रूपमा गर्न सकिन्थ्यो ।“
चौधरीले अन्य बैंकहरूमार्फत पनि यो सेवा उपलब्ध गराउन सकिने जनाउँदै भने, “सेवा दिने अधिकार सबै बैंकलाई छ । तर, नगरपालिकाको लापरवाहीले वृद्धहरू थप समस्यामा परेका छन् ।“
उनका अनुसार बैंकले हाल ४ वडामध्ये २ वडाको मात्र सामाजिक सुरक्षा वितरण गरिरहेको छ । बाँकी वडाका भत्ता अन्य बैंकहरूमार्फत वितरण गराउन नगरपालिकालाई आग्रह गर्दा पनि पालिकाले आलटाल गरिरहेको चौधरीले जानकारी दिए ।
कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले भने समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले भने, “सिटीजन बैंकसँग समन्वय गरी सबै वृद्धहरूलाई भत्ता वितरण गर्ने व्यवस्था गरिसकेका छौं । बैंकको क्षेत्रीय कार्यालयसँग समेत छलफल भएको छ । चाँडै समस्या समाधान हुन्छ ।“
तर, स्थानीय वृद्धहरू भने असन्तुष्ट छन् । एक वृद्धले भने, “हाम्रो हकको भत्ता समयमा नपाउँदा जीवनयापन थप कठिन भएको छ । नगरपालिकाले तुरुन्त कदम चाल्नुपर्छ ।“
वृद्ध भत्ता जस्तो महत्त्वपूर्ण सेवाले आर्थिक रूपमा कमजोर वृद्धहरूको जीवन सहज बनाउने उद्देश्य राखेको छ । तर, समयमा भत्ता वितरण नहुँदा वृद्धहरूले थप दुःख भोग्नुपरेको छ ।
स्थानीयहरूले नगरपालिकालाई समन्वय र व्यवस्थापन सुधार्न आग्रह गरेका छन् । भविष्यमा यस्ता समस्या नदोहोरियोस् भनेर स्पष्ट योजना बनाउन र कार्यान्वयन गर्न उनीहरूले माग गरेका छन् ।
वृद्ध भत्ताको समयमा वितरण सुनिश्चित गर्न नगरपालिका र बैंकहरूले समन्वय र पारदर्शितामा जोड दिनुपर्छ । यस्तो संवेदनशील विषयमा तत्काल कदम चालेर समस्या समाधान गर्नु अपरिहार्य देखिन्छ ।
प्रतिक्रिया