सौर्य एयरलाइन्सको किर्ते प्रकरणमा उजुरी, पीडित परिवारको न्यायको माग

...

कञ्चनपुर, मंसिर १२ गते ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी छोरीको हस्ताक्षर किर्ते गरेको आरोपमा पीडित परिवारले एयरलाइन्स व्यवस्थापनविरुद्ध कडा कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
पीडितका तर्फबाट पत्रकार प्रकाश खतिवडाले सौर्य एयरलाइन्सले ज्यान गुमाएकी छोरी प्रिजा खतिवडाको हस्ताक्षर किर्ते गरी नक्कली कागजात तयार गरेको भन्दै यसलाई गम्भीर अपराधको संज्ञा दिएका छन् । उजुरीमा एयरलाइन्सले गैरकानुनी तरिकाले हस्ताक्षर किर्ते गरेर पीडित परिवारको आत्मसम्मानमा ठेस पु¥याएको उल्लेख छ ।
दुर्घटनामा १८ जनाको ज्यान, परिवारको अपूरणीय क्षति
गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको थियो । घटनामा पत्रकार खतिवडाले छोरी, ज्वाइँ, र नाबालक नातिको ज्यान गुमाएका थिए ।
कानूनी माग र उजुरीका बुँदा
प्रधानमन्त्री कार्यालयमा ४०६० नम्बरमा दर्ता भएको उजुरीमा एयरलाइन्सले किर्ते कागजातमार्फत प्रिजा खतिवडालाई कर्मचारी साबित गर्न खोजेको आरोप छ । प्रिजा खतिवडा ऊर्जा मन्त्रालयमा १२ वर्षदेखि कार्यरत थिइन् ।
उजुरीमा जहाज दुर्घटनाको सरकारी छानबिन आयोगलाई पनि प्रश्न उठाइएको छ । आयोगमा योग्यता नपुगेका सदस्यलाई समावेश गरेको र प्रतिवेदन नियोजित ढंगले तयार पारिएको दाबी गरिएको छ । उजुरीमा संवैधानिक आयोग गठन गरी प्रतिवेदनको पुनः परीक्षण गर्न माग गरिएको छ ।
खतिवडाले भने, “प्रधानमन्त्रीको हस्ताक्षर किर्ते गर्ने पक्राउ पर्छन्, तर सौर्य एयरलाइन्सले गम्भीर अपराध गर्दा पनि कारबाही नगर्ने कानुन कुन हो?“
दुर्घटनाका मुख्य कारण
उजुरीका अनुसार दुर्घटनाको मुख्य कारण एयरलाइन्स व्यवस्थापनको लापरवाही, प्राविधिक कमजोरी, र मानवीय त्रुटि हो । सरकारी प्रतिवेदनले पनि यस्तै निष्कर्ष निकालेको पीडित पक्षको दाबी छ ।
न्यायका लागि पीडित परिवारको माग
उजुरीमा पीडित परिवारले दोषी एयरलाइन्स व्यवस्थापन र अन्य सरोकारवालालाई कारबाही गरी उचित क्षतिपूर्ति दिन माग गरेका छन् । साथै, भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न कडा कदम चाल्न पनि आग्रह गरिएको छ ।
पीडित परिवारले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयमा पनि उजुरी दर्ता गराएको छ । उनीहरूले यस मुद्दामा न्यायका लागि सरकारको तत्काल कदमको अपेक्षा गरेका छन् ।
 

प्रतिक्रिया