जनकपुरधाम, मंसिर १३ गते ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले लैङ्गिक समानतासहित हिंसामुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताउनुभएको छ।
जनकपुरधाममा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनएफपीए)को समन्वयमा बिहीबार आयोजना गरेको “जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका प्रतिबद्धताको कार्यान्वयन स्थिति तथा मधेशमा लैङ्गिक समानताको सवाल“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
उहाँले मधेश प्रदेशमा लैङ्गिक हिंसा, दहेज प्रथा, र बालविवाह जस्ता सामाजिक विकृतिहरु भयावह रूपमा रहेको बताउँदै यस्ता समस्याको समाधानका लागि प्रहरी प्रशासन, जनप्रतिनिधि र नागरिक समाज सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता विकृति अन्त्यका लागि सरोकारवालाबीच समन्वयमा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो।
जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक राम अशिष यादवले लैङ्गिक समानता सुनिश्चित गर्न निर्माण भएका ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले जनसङ्ख्या वृद्धिसँगै विकासका प्रयासलाई गति दिनुपर्नेमा पनि जोड दिनुभयो।
नेकपा एमालेकी प्रदेशसभा सदस्य शारदादेवी थापाले नागरिकलाई जागरूक बनाउने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर हिंसामुक्त समाज निर्माणमा प्रदेश सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो।
खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका सचिव चूडामणि फुयालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यहरु जंगीलाल राय, जिवछीकुमारी यादवलगायतले पनि लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा यूएनएफपीएका कार्यक्रम अधिकृत समीर घिमिरेले लैङ्गिक समानता र जनसङ्ख्या वृद्धिको प्रभावबारे जानकारी गराउनुभएको थियो भने मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम साहले मधेशमा लैङ्गिक हिंसाको अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
प्रतिक्रिया