कञ्चनपुर,मंसिर १४ गते ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले ‘तह लगाइदिने’ धम्की दिएका छन् । मन्त्री लेखीका अनुसार यादवले ह्वाट्सएपमार्फत तीन पटक फोन गरी आर्थिक सहयोग माग गरेका थिए ।
मन्त्री लेखीले भने, “मैले आर्थिक सहयोग दिन अस्वीकार गरेपछि यादवले गम्भीर धम्की दिए । ‘मन्त्री हुनुहुन्छ, जसरी पनि आर्थिक सहयोग चाहिन्छ, नभए तह लगाउँछौं,’ भन्दै धम्क्याए ।”
उक्त समूहले तराईमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको मन्त्री लेखीले बताए । यादव र लेखी दुवै कुनै समय एमालेमा सँगै सक्रिय थिए । यादव सप्तरीका एमाले अध्यक्ष रहँदा लेखी काठमाडौं–सप्तरी जनसम्पर्क मञ्चका नेता थिए । तर, यादव आपराधिक गतिविधिमा लागेपछि उनीहरूबीच सम्पर्क टुटेको मन्त्री लेखीले जानकारी दिए ।
मधेस प्रदेशको सुरक्षा समन्वय बैठकमा यस विषयमा छलफल भएको छ । मन्त्री लेखीले सुरक्षा व्यवस्था जटिल बन्दै गएको बताउँदै सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् । बैठकमा उनले भने, “सुरक्षा अधिकारीहरूले ठीक ढंगले काम नगरे कारबाही हुनेछ । यहाँका जनताले शान्त वातावरणमा बाँच्न किन नसकेको? सुरक्षा व्यवस्थामा कहाँ त्रुटि भएको?”
स्रोतका अनुसार मन्त्री लेखीले ड्युटीमा लापरबाही गर्ने प्रहरी अधिकारीलाई कारबाहीको चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया