कञ्चनपुर, मंसिर १५ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले ३७औं विश्व एड्स दिवसको अवसरमा जनचेतनामूलक र्याली सम्पन्न गरेको छ। “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने नाराका साथ आयोजना गरिएको र्याली कंचनपुर वेरियरबाट सुरु भई नगरपालिकाको प्राङ्गणमा पुगेर समापन भएको थियो।
नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एड्स सम्बन्धी जनचेतनाको कमी अझै पनि सप्तरी जिल्लामा देखिएको भन्दै यस क्षेत्रलाई जनचेतनामूलक गतिविधिमा अझ सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले होटल तथा अन्य स्थानमा स्वास्थ्यकर्मी र स्वयंसेविकामार्फत जनचेतना फैलाउन विशेष पहल गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले सप्तरीका १८ वटै पालिकाहरूमध्ये कञ्चनरुप नगरपालिकालाई एचआईभी/एड्सको जोखिम उच्च रहेको बताए। उनले एचआईभी संक्रमितले नियमित औषधि सेवन गर्नुपर्ने र यौन सम्पर्कका क्रममा सदैव कंडमको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए।
सहयोगी समाजका कार्यक्रम संयोजक प्रदिप लामिछानेले सप्तरीमा हालसम्म १८७ जना एचआईभी संक्रमित फेला परेको जानकारी दिए। तीमध्ये कञ्चनरुप नगरपालिकामा १९ जना संक्रमित रहेको उल्लेख गर्दै ८ पुरुष, ८ महिला, र १ जना अन्य लिंगी रहेको तथ्य सार्वजनिक गरे।
कार्यक्रममा सहभागी उपनगर प्रमुख मुना कुमारी पोखरेलले र्यालीले एड्स रोकथाम, उपचार, र जनचेतनाका लागि अधिकार र स्वास्थ्य सेवाको पहुँचमा जोड दिएको बताइन्। स्वास्थ्य शाखाका सहसंयोजक डम्बर प्रसाद गुप्ताले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
र्यालीमा स्थानीय स्वास्थ्यकर्मी, स्वयंसेवकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। सहभागीहरूले एड्स रोकथाम, उपचार, र समुदायस्तरमा जनचेतना बढाउन आवश्यक पहलको महत्त्वबारे जागरुकता फैलाए।
यस जनचेतनामूलक कार्यक्रमले कञ्चनरुप नगरपालिकामा एचआईभी/एड्सप्रति सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया