हनुमाननगर कंकालिनी ११मा बालिकाको शव फेला

...

राजविराज, मंसिर १६ गते ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवा क्षेत्रमा कोशी नदीको पलार क्षेत्रमा १० देखि ११ वर्ष उमेरकी एक बालिकाको शव फेला परेको छ । स्थानीय बासिन्दाले आइतबार बिहान करिब ११ः३० बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक जितेन्द्र कुमार बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको नाम, थर, र वतन अहिलेसम्म खुल्न सकेको छैन । बालिकाको शव नदीको छेउमा तैरिरहेको अवस्थामा भेटिएको हो ।
प्रहरीका अनुसार शवको अवस्था हेर्दा बालिका केही समयदेखि हराइरहेको अनुमान गरिएको छ । घटनाको कारण र बालिकाको पहिचानका लागि गहिरो अनुसन्धान सुरु गरिएको छ । शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ ।
प्रहरीले घटनास्थल आसपासका स्थानीयवासीसँग सोधपुछ गरिरहेको र हराएका बालबालिकाका विषयमा छानबिन जारी राखेको जानकारी दिएको छ । साथै, बालिकालाई चिनेका वा कुनै जानकारी भएका व्यक्तिलाई प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
घटनाबारे थप विवरणहरु संकलन गर्ने क्रम जारी रहेको र यो घटनाले स्थानीय क्षेत्रका बासिन्दालाई स्तब्ध बनाएको छ । प्रहरीले घटना रहस्यमय भएको भन्दै सूक्ष्म अनुसन्धानमा जुटेको बताएको छ ।
 

प्रतिक्रिया