कञ्चनपुर, मंसिर २९ गते ।
सिरहा र सप्तरीका मुस्लिम समुदायका अगुवाहरूको सहभागितामा शैक्षिक, आर्थिक, र सामाजिक अवस्थाबारे गहन छलफल गर्न दुईदिने संवाद कार्यक्रम शनिबार कञ्चनरुपमा सुरु भएको छ। दलित सरोकार मञ्च नेपालले इन्टरनेसनल आइडियाको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा सिरहा र सप्तरी जिल्लाका करिब ४० जना मुस्लिम अगुवाहरू सहभागी भएका छन्।
कार्यक्रमको मुख्य उद्देश्य मुस्लिम समुदायका विविध समस्या पहिचान गर्दै समाधानका उपाय तय गर्नु रहेको छ। सहभागीहरूले समुदायभित्रका शैक्षिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएका चुनौतीबारे धारणा राख्दै ठोस योजनाहरू आवश्यक रहेको बताए।
साक्षरता दर अन्य समुदायको तुलनामा निकै कम रहेको र शिक्षाको मूलधारमा मुस्लिम बालबालिकाको सहभागिता कम रहेको गुनासो गरियो। मदरसा शिक्षालाई आधुनिक शिक्षामा रूपान्तरण गर्न मदरसा बोर्ड गठन गर्नुपर्ने, सरकारी विद्यालयसरह सेवा सुविधा प्रदान गर्नुपर्ने, र प्राविधिक तथा व्यवसायिक शिक्षामा पहुँच विस्तार गर्नुपर्ने सुझाव सहभागीहरूले दिए। साथै, छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनाउँदै मुस्लिम महिलाको शिक्षामा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइयो।
मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर रहेको, सीप विकासको न्यून पहुँच रहेको, र रोजगारीका अवसर सीमित रहेको सहभागीहरूको भनाइ थियो। वैदेशिक रोजगारीको उचित व्यवस्थापन, महिला र युवा लक्षित सीप विकास कार्यक्रम, र सरकारी बजेटमा मुस्लिम समुदायलाई प्राथमिकता दिनुपर्ने माग गरियो। साथै, देखावटी खर्च न्यूनीकरण गर्दै बचत गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्नुपर्ने सुझाइएको छ।
दाइजो प्रथा, बालविवाह, र घरेलु हिंसाले मुस्लिम समुदायको प्रगतिमा बाधा पुर्याएको उल्लेख गर्दै सहभागीहरूले सामाजिक चेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए। महिला सशक्तीकरण अभियान, धार्मिक सहिष्णुताका प्रयास, र सामाजिक सुधारका अन्य कार्यक्रममार्फत समुदायको सामाजिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिइयो।
कार्यक्रममा सहभागीहरूले मुस्लिम समुदायको समग्र विकासका लागि शिक्षा, रोजगारी, महिला सशक्तीकरण, र धार्मिक(सांस्कृतिक संरचनाको संरक्षणका क्षेत्रमा विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याए। मदरसा शिक्षाको आधुनिकीकरण गर्दै सरकारी शिक्षाको स्तरमा ल्याउनुपर्ने, मुस्लिम महिलालाई लक्षित छात्रवृत्ति र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने, र युवालाई सीपमूलक तालिममा सहभागी गराउनुपर्ने धारणा व्यक्त गरियो।
कार्यक्रम आइतबार समापन हुने र छलफलका निष्कर्षहरू सम्बद्ध निकायलाई सिफारिस गरिने आयोजकले जानकारी दिएका छन्।
प्रतिक्रिया