सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा: आर्थिक सशक्तीकरण र सामुदायिक विकासमा उल्लेखनीय योगदान

...

कञ्चनपुर, पुष ६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. २ स्थित महादेवपट्टि चौक नजिक रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो १७औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष अनोज कुमार बहरखेरको अध्यक्षतामा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका सचिव, कोषाध्यक्ष र लेखा समितिले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाको आर्थिक स्थायित्व, प्रगतिशील उपलब्धि र आगामी योजना समेटिएको थियो । अध्यक्ष बहरखेलले दर्ता हुँदा चार लाख रुपैयाँको बचतबाट सुरु गरिएको संस्थाले हालसम्म ३५ करोड २१ लाख ७६ हजार ७ सय ८१ रुपैयाँ बचत गर्न सफल भएको जानकारी गराए ।
बचत सदस्यहरूको तथ्यांकअनुसार हालसम्म १३५६ महिला र ९०२ पुरुष सदस्यहरू छन् । संस्थाले ३२ करोड १३ लाख ३५ हजार ५ सय १० रुपैयाँ ऋण लगानी गरेको छ भने एक सदस्यका लागि अधिकतम ऋण सीमा ३५ लाख रुपैयाँ रहेको छ ।
कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिका वडा नं. १ का अध्यक्ष रब्बान खानले सहकारीले स्थानीय स्तरमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले सहकारीले विशेष गरी कोरोना महामारीका कठिन समयमा बैंकहरूले ऋण उपलब्ध गराउन नसक्ने अवस्थामा समुदायलाई ठूलो सहयोग पु¥याएको बताए । सहकारीको भूमिकाले आर्थिक सशक्तीकरण मात्र होइन, सामाजिक एकता र सामुदायिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।
साधारण सभामा कञ्चनरुप नगरपालिकाकी उपमेयर मुना पोखरेलले संस्थालाई थप सशक्त बनाउन १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् । त्यस्तै, तिर्हुत गाउँपालिकाका पूर्वअध्यक्ष हेमन्त कुमार बहरखेल (मनोज) ले संस्थाको कार्यालयका लागि ६० हजार रुपैयाँ बराबरको फर्निचर सहयोग उपलब्ध गराउने घोषणा गरे ।
कार्यक्रममा सहकारीले ठगी तथा अन्य नकारात्मक क्रियाकलापबाट सचेत रहन सदस्यहरूलाई आग्रह गरेको थियो । केही मानिसहरूले सहकारीको नाममा विश्वास तोड्ने गतिविधि गर्न खोज्ने प्रयास गरिरहेका समय, संस्थाले सदस्यहरूको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा सहभागी स्थानीय व्यक्तिहरूले सहकारीको महत्त्वमा जोड दिँदै यसले समाजमा ल्याएको परिवर्तनका बारेमा चर्चा गरे । उनीहरूले सहकारी संस्थाहरूको उचित व्यवस्थापन, पारदर्शिता, र विश्वसनीयताले नै भविष्यमा अझ सशक्त भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।
साधारण सभामा सहकारीका व्यवस्थापक विनोद कुमार दासले शुभकामना मन्तव्य दिएका थिए । उनले सहकारीलाई स्थानीय स्तरमा उदाहरणीय संस्था बनाउनेतर्फ सबै सदस्यको सहकार्य र प्रतिबद्धताको आवश्यकता औंल्याए ।
कार्यक्रमले सहकारीका वर्तमान चुनौती र भविष्यका अवसरहरूबारे गहन छलफल गरी संस्थाको प्रभावकारिता र विश्वसनीयता बढाउने दिशामा ठोस योजना बनाउन मद्दत गरेको छ । सहभागीहरूले सहकारीको उद्देश्यलाई निरन्तरता दिँदै आर्थिक, सामाजिक, र सामुदायिक प्रगतिको मार्गप्रशस्त गर्ने प्रतिबद्धता जनाएका थिए ।
 

प्रतिक्रिया