कञ्चनरुप, पुष १२ गते ।
कञ्चनरूप नगरपालिकाले दलित समुदायको स्थानीय नीति, कार्यक्रम र बजेटमा पहुँच सुनिश्चित गर्न विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिका वडा नं. ८ स्थित आयुष होटलमा शुक्रबार आयोजित कार्यक्रममा नगर प्रमुख ललन प्रसाद गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी भए । कार्यक्रममा दलित समुदायका अधिकार, अवसर र स्थानीय सरकारको सुधारात्मक उपायबारे गहन छलफल भएको थियो ।
नगर प्रमुख गुप्ताले आफ्नो सम्बोधनमा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राख्दै स्थानीय सरकारको उत्तरदायित्वलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । छलफलका क्रममा समुदायको पहुँच विस्तार र सहभागिता अभिवृद्धिका उपायहरूबारे सहभागीहरूबीच विचार–विमर्श भएको थियो ।
कार्यक्रम स्थानीय जातीय भेदभाव तथा छुवाछूत अनुगमन समिति र दलित सरोकार मञ्च नेपालको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माणमा दलित समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।
दलित सरोकार मञ्च नेपालका कार्यक्रम संयोजक मनिष कोईराला र राजकुमार पासवानले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमले दलित समुदायप्रति नगरपालिकाको उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । सहभागीहरूले यस्तो प्रकारका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
प्रतिक्रिया