कञ्चनपुर, पुष १४ गते ।
कञ्चनरुप नगरपालिका–४, जगतपुर सदा टोलका ५२ घरधुरी पछिल्लो समय अर्नाको आतंकले त्रसित बनेका छन्। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने अर्नाले गाउँमा बारम्बार आक्रमण गरी खेतीबालीदेखि मानवीय जीवनसम्म प्रभावित बनाएको स्थानीयले गुनासो गरेका छन्।
सदा टोलका किसानहरूले लगाएका कोबी, आलु, बैगनजस्ता तरकारी बालीहरू पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीय बुद्धिलाल सदाका अनुसार, चार कठ्ठा क्षेत्रफलमा लगाइएको बाली रातारात अर्नाले खाएर वा कुल्चेर नष्ट गरेको छ। यसले अन्य किसानलाई पनि ठूलो आर्थिक र मानसिक पीडा दिएको छ। स्थानीय महिलाहरूले अर्नाको त्रासले जनजीवन अस्तव्यस्त भएको र खेतीबाली गर्ने वातावरण नै छैन भन्ने बताएका छन्।
स्थानीय बुद्धिलाल सदाले अर्नाको आक्रमणले केवल खेतीबालीमा मात्र होइन, मानव जीवनमा पनि खतराको संकेत देखाएको बताए। उनले भने, “यदि सरकारले तत्काल कुनै कदम उठाएन भने कुनै दिन मानिसको ज्यान पनि जान सक्छ।“ सदाका अनुसार, केही दिनअघि जगतपुरकै एक व्यक्तिले अर्नाको आक्रमणबाट बल्लतल्ल ज्यान जोगाएका थिए।
गत पुस १२ गते अर्नाको आक्रमणबाट कञ्चनरुप नगरपालिका–१० निवासी ३८ वर्षीया रतनी देवी पासमान र १६ वर्षीया अस्मिता कुमारी पासमान गम्भीर घाइते भएका थिए। उनीहरूको अहिले उपचार भइरहेको छ। स्थानीयले कोशी टप्पु आरक्ष क्षेत्रबाट आउने अर्नाले गाउँमा बारम्बार क्षति पु¥याउने गरेको बताए।
यसअघि, पुस ३ गते सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका–९ का ७६ वर्षीय शुभेलाल मंडलको अर्नाको आक्रमणबाट मृत्यु भएको थियो। स्थानीयहरूले आरक्षबाट आउने वन्यजन्तुलाई नियन्त्रण गर्न नसक्दा जनधनको क्षति भइरहेको गुनासो गरेका छन्।
स्थानीय बुद्धिलाल सदाले वन्यजन्तु नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरे। “सरकारले कुनै पहल नगरे, मानवीय क्षतिको ठूलो जोखिम हुन्छ। अर्नाको आक्रमणले खेतीबाली गर्न र गाउँमा शान्तिपूर्ण वातावरण कायम गर्न गाह्रो भएको छ,” सदाले भने।
गाउँलेहरूका अनुसार, अर्नाको समस्या कुनै नयाँ होइन। तर, यसपटक आक्रमण तीव्र बनेको र जनधनको क्षति बढेको छ। किसानहरू आफ्नो खेतबारी र बालीको सुरक्षाका लागि रातभर जाग्राम बस्न बाध्य भएका छन्। यद्यपि, अर्नाको शक्ति र संख्याका कारण उनीहरूको प्रयासले कुनै प्रभाव पार्न सकेको छैन।
सरकारले वन्यजन्तुको व्यवस्थापन र स्थानीयको सुरक्षाका लागि तत्काल कदम नचाले, अर्नाको आक्रमणले झनै ठूलो संकट निम्त्याउन सक्ने स्थानीयको भनाइ छ।
प्रतिक्रिया