महाेत्तरी, पिपरा, पुष १४ गते ।
महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले दलित समुदायका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आइतबार गाउँपालिकाको सभाहलमा आयोजित "नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच" विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलित समुदायका लागि चालु हिउँदे अधिवेशनबाटै विशेष कार्यक्रम कार्यान्वयन गर्न बजेट छुट्याउने बताएका हुन्।
कार्यक्रममा अध्यक्ष यादवले विगतमा राज्यले दलित समुदायमाथि गरेको विभेदका कारण उनीहरू पछाडि परेको तथ्यलाई स्वीकार गर्दै, राज्यले बनाएको नीति प्रभावकारी रूपमा लागू गर्न पालिका प्रतिबद्ध रहेको उल्लेख गरे। उनले भने, "दलित समुदायका लागि हामीले केही सकारात्मक प्रयास गरेका छौं, तर अझै पर्याप्त बजेट विनियोजन गर्न सकेका छैनौं भन्ने स्वीकार्छु। आगामी दिनमा यसलाई सुधार गर्न ठोस योजना बनाउनेछौं।"
दलित सशक्तीकरणका लागि कदम उठाउँदै पालिका
अध्यक्ष यादवले पिपरा गाउँपालिकाको कार्यपालिकामा ४० प्रतिशत दलित सदस्य रहेको जानकारी गराउँदै, स्थानीय जातीय भेदभाव तथा छुवाछूत अनुगमन समितिलाई दलित सशक्तीकरणका लागि प्रभावकारी योजना प्रस्तुत गर्न आग्रह गरे। यदि प्रस्ताव गरिएका योजनाहरू कार्यान्वयन योग्य भए, तिनलाई चालु आर्थिक वर्षकै हिउँदे अधिवेशनबाटै बजेटमा समेट्ने उनले बताए।
पालिकाकी उपाध्यक्ष बन्दना पाण्डेयले पनि कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदायका लागि पालिका सहजीकरण गर्न तयार रहेको बताइन्। साथै, दलित समुदाय आफैं पनि आफ्नो हक अधिकारका लागि सक्रिय हुनुपर्नेमा उनले जोड दिइन्।
दलित अधिकार र बजेटमा पहुँचबारे छलफल
कार्यक्रममा दलित समुदायका अधिकार, अवसर र स्थानीय सरकारका सुधारात्मक उपायबारे गहन छलफल भएको थियो। सहभागीहरूले पालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा दलित समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरे।
दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक मनिष कोईरालाले पिपरा गाउँपालिकामा दलित समुदायको पहुँचबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा सहभागीहरूले यस्तो कार्यक्रमले पालिकाको उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन मद्दत पुर्याउने धारणा राखे।
पिपरामा दलित लक्षित बजेटको अवस्था
२०७९/८० आर्थिक वर्षको बजेटमा पिपरा गाउँपालिकाले दलित समुदायका लागि ७५ लाख ८८ हजार विनियोजन गरेको थियो, जुन कुल बजेटको ०.८९ प्रतिशत मात्र हो। यो रकम दलित समुदायका छात्रवृत्ति, सामुदायिक भवन निर्माण, सीपमूलक तालिम र सांस्कृतिक कार्यक्रमका लागि छुट्याइएको थियो।
२०८०/८१ आर्थिक वर्षका लागि पिपरा गाउँपालिकाले ५२ लाख २ हजार दलित लक्षित बजेट छुट्याएको छ, जुन कुल बजेटको १.११ प्रतिशत हो। यसबाहेक, पालिकाले दास समुदायका धर्मशाला निर्माण, सीपमूलक तालिम, र दलित समुदायको भौतिक पूर्वाधार सुधारका लागि समेत बजेट विनियोजन गरेको छ।
दलित लक्षित बजेट प्रभावकारी बनाउनका चुनौतीहरू
दलित लक्षित बजेट प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता, संगठित दबाब, र नीति निर्माणमा प्रभावकारी योजना आवश्यक रहेको सहभागीहरूले बताए। दलित सरोकारका क्षेत्रमा दलितमैत्री नेतृत्वको अभाव, चेतनाको कमी, र समुदायको सीमित पहुँच जस्ता कारणले बजेट प्रभावकारी हुन नसकेको अध्ययनहरूले देखाएको छ।
कार्यक्रमले दलित समुदायलाई सशक्त बनाउन पालिकाको उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रम सञ्चालन पत्रकार कुलदीप दासले गरेका थिए।
प्रतिक्रिया