कञ्चनपुर, पुष १६ गते
समाज कल्याण परिषद, केन्द्रीय कार्यालय हरिहर भवन पुल्चोक, ललितपुरले कञ्चनरुप नगरपालिका-१०, बदगामाका चित्तरञ्जन यादवलाई राष्ट्रिय अपांग कोषको रिक्त सदस्य पदमा मनोनयन गरेको छ।
परिषदको कार्य सञ्चालन समितिको गत पुष ९ गते बसेको बैठकको निर्णय अनुसार यादवलाई कोषको सदस्यमा मनोनयन गरिएको हो। कार्य सञ्चालन (कार्य व्यवस्था) नियमावली २०५५ (सातौं संशोधन २०८१ सहित) को नियम ६ को उपनियम ३ बमोजिम रिक्त सदस्य पदमा मनोनयन गरिएको परिषदका सदस्य सचिव मनोज भट्टले जानकारी गराएका छन्।
चित्तरञ्जन यादवको कार्यकाल चार वर्षको रहनेछ। समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टको हस्ताक्षरसहित सार्वजनिक गरिएको पत्रमा यादवलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ।
यादवको मनोनयनसँगै राष्ट्रिय अपांग कोषको कार्य सञ्चालन थप प्रभावकारी हुने विश्वास गरिएको छ।
चित्तरञ्जन यादव अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सप्तरी जिल्ला कमिटीका सदस्य समेत हुन्।
प्रतिक्रिया