कञ्चनपुर, पुष १६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा रहेको बुढो बाबा पेडा भण्डार तथा जेनरल स्टोरको अगाडि राखिएको शालिक अज्ञात समूहद्वारा भत्काइएको छ। सिसिटिभी फुटेजमा राति २:३० बजे सेतो लुगा, सेतो चप्पल, र टोपी लगाएका दुई जना व्यक्तिहरू शालिक भत्काइरहेको देखिएको छ।
पसलका सञ्चालक असर्फी शाहले बिहान ५ बजे शालिकको भत्किएको अवस्था देखेपछि स्थानीयहरूलाई जानकारी गराएका थिए। उनका अनुसार उक्त शालिक दुई वर्षअघि भारतबाट झिकाइएको थियो र यसको लागत ५०,००० भारतीय रुपैयाँ थियो।
शाहले आफ्ना छिमेकी तथा प्रतिस्पर्धी विवेक शाहमाथि शंका व्यक्त गरेका छन्। उनका अनुसार, विवेक शाहसँग पहिले नै व्यक्तिगत मनमुटाव थियो, र उनीका पाहुना भारतबाट आएको हुँदा शालिक तोडफोडको योजनामा संलग्न हुन सक्ने दाबी गरिएको छ। उल्लेखनीय छ, असर्फी शाह र विवेक शाहका पसलहरू आम्नेसाम्ने छन्।
“यदि मेरो छिमेकीले यो काम गरेका हुन् भने, उनी आएर माफी मागेमा म कानुनी प्रक्रिया अघि नबढाउने छु,” सञ्चालक असर्फी शाहले भने।
यस घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रको नेतृत्वमा भइरहेको छ।
प्रतिक्रिया