कञ्चनपुर, पुस २२ गते।
नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रअन्तर्गत महादेवा फ्युज सेवा तथा विद्युत महसुल संकलन काउन्टरको उद्घाटन पुस २१ गते सम्पन्न भएको छ। कार्यक्रम महादेवा गाउँपालिका, भगवतपुर, सप्तरीमा आयोजना गरिएको थियो। उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख शम्भु कुशीयत यादवले यस काउन्टरको सञ्चालनपछि १५ हजार ग्राहकलाई घरपायक सेवा प्राप्त हुने बताए।
प्रमुख अतिथि यादवले भने, “यस काउन्टरले बिल तिर्ने, सेवाग्राहीका दैनिक समस्या समाधान गर्ने, र सेवा प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। अब यस क्षेत्रका जनतालाई घरदैलोमै सेवा पाउन सहज हुनेछ।” उनले यस क्षेत्रका जनताको समस्या समाधानका लागि सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
महादेवा काउन्टर सञ्चालनपछि ग्राहकले अब ५० रुपियाँको बिल तिर्न कञ्चनपुर आउँदा १०० रुपियाँ खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने छन्। कञ्चनपुर वितरण केन्द्रका प्रमुख अरुण कुमार साहले काउन्टर सञ्चालनले समय र पैसाको बचतका साथै सेवाग्राहीको सुविधा बढाउने उल्लेख गरे। उनका अनुसार, ७ दिनभित्र महसुल तिर्ने ग्राहकलाई २ प्रतिशत छुटको लाभ पनि यस काउन्टरले पुर्याउनेछ।
समारोहमा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल मण्डल, उपाध्यक्ष प्रकाश महतो, प्राधिकरणका कर्मचारी, र स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम बिहान १२:३० बजे सुरु भएको थियो। सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रमुख अरुण कुमार साहले विद्युत सेवा थप प्रभावकारी बनाउने योजनाका लागि सहयोगको आह्वान गरे। काउन्टरले स्थानीय बासिन्दाको दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया