कञ्चनपुर हाटमा सिटिरिक्साको जामले जनजीवन कष्टकर, स्थानीय सरकार मौन

...

कञ्चनपुर, पुष २५ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित कञ्चनपुर हाटमा सिटिरिक्साको अव्यवस्थित पार्किङ र जामले सर्वसाधारणलाई दैनिक आवतजावतमा ठूलो कठिनाइ पु¥याएको छ । हाटको दिन, विशेष गरी बिहीबार, सिटिरिक्साले मुख्य सडक र आसपासका क्षेत्र अवरुद्ध पार्दा पैदलयात्रु र सवारीसाधन दुवैलाई समस्या भइरहेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
स्थानीयको भनाइ अनुसार, हाट लाग्ने समय अत्यधिक चाप हुने गरेको छ । हाटभित्र किनमेल गर्न आउने सर्वसाधारणलाई बाटो काट्न र आवतजावत गर्न निकै गाह्रो हुने गरेको छ । “सिटिरिक्साले सडक पूरै घेर्ने गरेको छ । त्यसैले हाटभित्र पस्न र बाहिरिन झन्झटिलो हुने गरेको छ,“ एक स्थानीय बासिन्दाले गुनासो गरे ।
समस्याको समाधान गर्न कञ्चनरुप नगरपालिकाले केही समयअघि नगर प्रहरी परिचालन गरी सिटिरिक्साको गतिविधिलाई नियन्त्रण गर्ने प्रयास गरेको थियो । नगरपालिकाले सिटिरिक्साका लागि निश्चित पार्किङ क्षेत्र तोक्ने योजना समेत अघि सारेको थियो । तर, त्यसलाई निरन्तरता दिन नगरपालिकाले असफल प्रयास गर्दा समस्या झन् चर्किएको स्थानीयहरूको आरोप छ ।
सिटिरिक्साको अव्यवस्थित पार्किङले मात्र होइन, मुख्य सडकमा हुने भीडले गर्दा पनि आपतकालीन सेवा सञ्चालनमा कठिनाइ हुने गरेको छ । कुनै बिरामीलाई अस्पताल लैजानुपर्ने अवस्था भएमा एम्बुलेन्ससमेत जाममा अड्किने सम्भावना रहेको स्थानीयले बताए ।
यस समस्याबारे नगरपालिकाका अधिकारीहरूसँग प्रतिक्रिया लिन खोज्दा कुनै जवाफ प्राप्त हुन सकेन । स्थानीयले नगरपालिकामाथि समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाउँदै ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न र सिटिरिक्साका लागि निश्चित पार्किङ क्षेत्र तत्काल तोक्न माग गरेका छन् ।
समस्या समाधानमा ढिलाइ भएमा यसले स्थानीय जनजीवनमा अझै ठूलो असर पर्ने देखिन्छ । नगरपालिकाले समयमै उचित कदम नचाल्ने हो भने सर्वसाधारणको दैनिक जीवन अझ कठिन बन्ने मात्र होइन, कञ्चनपुर हाट क्षेत्रमा आर्थिक गतिविधिमा पनि नकारात्मक प्रभाव पर्ने सम्भावना रहेको जानकारहरूको चेतावनी छ ।
समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले योजनाबद्ध ढंगले सिटिरिक्साको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि ट्राफिक नियमको कडाइ, नगर प्रहरी परिचालन, र व्यवस्थित पार्किङ क्षेत्र तोक्ने जस्ता उपायहरू लागू गर्नुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया