महुली सामुदायिकद्धारा सप्तकोशीमा भूमिहीन दलित समुदायलाई सुरक्षित आवास हस्तान्तरण

...

फत्तेपुर, पुस २५। सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ४ बालार्दहस्थित कामत टोलमा बसोबास गर्दै आएका १८ घर भूमिहीन दलित परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरिएको छ। बिहीबार महुली सामुदायिक विकास केन्द्रले एक विशेष समारोहका बीच सुरक्षित आवास हस्तान्तरण गरेको हो।

महुली सामुदायिक विकास केन्द्र बकधुवा सप्तरी र ह्याबिट्याट फोर ह्युम्यानिटी नेपालको संयुक्त साझेदारीमा निर्माण सम्पन्न गरिएका आवास सप्तकोसी नगरपालिकाको समन्वयमा हस्तान्तरण गरिएको हो। निर्माण अनुगमन समितिका संयोजक तीर्थराज चौधरीका अनुसार यी घरहरू शौचालय, खानेपानी, बिजुली, र बाधारूमासहितका दुई कोठे संरचना छन्।

कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले गरीब दलित तथा भूमिहीन समुदायलाई सहयोग गर्न नगरपालिका दृढ रहेको बताए। उनले निस्सा सहितको आवास निर्माणलाई प्राथमिकतामा राखेर समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे।

भूमिहीन मुसहर समुदायका परिवारहरूले दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आइरहेका थिए। सुरक्षित आवास प्राप्त भएपछि उनीहरूको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगर उपप्रमुख रिताकुमारी चौधरी, वडा अध्यक्ष जयराम खंग, वडा सदस्य शिवनारायण बडही, महुली सामुदायिक विकास केन्द्रका प्राविधिक ताराकान्त चौधरी, ह्याबिट्याट नेपालका पंकज साहलगायतको उपस्थिति थियो। कार्यक्रममा महुली सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक चन्द्रनारायण चौधरीले समन्वयात्मक प्रयासले मात्र यस्तो उपलब्धि सम्भव भएको बताए।

यो अभियानले दलित भूमिहीन समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया