मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष जारी : केन्द्रिय सदस्य एवं सप्तरी इन्चार्ज मोहम्मद अनबर

...

कञ्चनपुर, माघ २ गते। नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इतेहाद संगठनका केन्द्रिय सदस्य एवं सप्तरीका इन्चार्ज मोहम्मद अनबरले मुस्लिम समुदायको अधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संगठनलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। "संगठन कुनै व्यक्ति विशेषको होइन, यो विधिविधानले सञ्चालन हुन्छ। अब हामी सबै पालिकामा संगठित सदस्यता विस्तार गर्दै मुस्लिम समुदायको हक र अधिकार सुनिश्चित गर्न सक्रिय रूपमा लाग्नेछौं," अनबरले भने। 

राजविराजमा सम्पन्न संगठनको तेस्रो जिल्ला अधिवेशनले मोहम्मद मुस्तफा मियाँलाई पुनः सर्वसम्मत अध्यक्ष चयन गरेको छ। अधिवेशनले २३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।
कमिटीमा उपाध्यक्षमा सफिकरहमान (हनुमाननगर कंकालिनी नगरपालिका), सचिवमा सफरिद मियाँ (डाक्नेश्वरी नगरपालिका), उपसचिवमा रौशनी खातुन (राजविराज नगरपालिका) चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा मोदी मियाँ (सप्तकोशी नगरपालिका), मोहम्मद ईसराई (तिलाठी कोइलाडी गाउँपालिका), अपसाना खातुन (कञ्चनरुप नगरपालिका), मजिबुल रहमान (छिन्नमस्ता गाउँपालिका), हाजी गुलाब रसुल (डाक्नेश्वरी नगरपालिका), मोह इसराफिल (राजविराज नगरपालिका), अनसारुल हक, सहावुन खातुन (बोदेबसाईन नगरपालिका) रहेका छन्।

अधिवेशनका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा संगठनका केन्द्रिय अध्यक्ष माननीय शेराज अहमद फारुकी थिए। उनले संगठनलाई मुस्लिम समुदायको आवाज बनाउँदै अधिकार सुनिश्चित गर्न सबैलाई एकताबद्ध भएर काम गर्न आग्रह गरे।
अधिवेशनको अध्यक्षता जिल्ला कमिटीका अध्यक्ष मोहम्मद मुस्तफा मियाँले गरेका थिए।

मुस्लिम समुदायको समृद्धि र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संगठनको भूमिका अझै महत्वपूर्ण हुनेमा नेताहरूले जोड दिएका छन्।
मोहम्मद अनबरले संगठनको आगामी योजना सार्वजनिक गर्दै भने, "अब सबै पालिकामा संगठन विस्तार गरी समुदायको आर्थिक, सामाजिक, र राजनीतिक सशक्तीकरणका लागि काम गरिनेछ।"

कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य मोहम्मद कलिम, युवा नेता मोहम्मद अनवर लगायतले संगठनप्रति ऐक्यबद्धता जनाउँदै मुस्लिम समुदायको समग्र विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए। संगठनले आगामी दिनमा मुस्लिम समुदायको पहुँच राज्यका सबै निकायमा वृद्धि गर्न विशेष रणनीति अवलम्बन गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया