कञ्चनपुर, माघ ३ गते ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी १८ औं वर्षमा प्रवेश गरेको छ। संस्थाका अध्यक्ष अनोजकुमार यादवले कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै भने, "१७ वर्षअघि ३ लाख रुपैयाँबाट सुरु भएको यो संस्था आज ५० करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ। यो सफलता संचालक समिति र कर्मचारीहरुको इमानदार प्रयासको परिणाम हो।"
अध्यक्ष यादवले सहकारीलाई सफल बनाउन पारदर्शिता र कुशल व्यवस्थापनको भूमिका महत्वपूर्ण रहेको औंल्याए। उनले भने, "संचालक समितिले नीतिगत निर्णय लिन्छ भने व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारीले ती नीतिलाई सफलतामा रूपान्तरण गर्छन्।" यादवले सहकारी क्षेत्रमा देखिएका संकट र सरकारको कठोर नीतिका असरबारे चर्चा गर्दै आफ्नो समिति पारदर्शितामा अडिग रहेको बताए।
कार्यक्रममा अवलोकित दैनिकका सम्पादक भोला पासवानले सहयोगीले चुनौतीपूर्ण समयमै डिजिटल सेवाहरु, जस्तै मोबाइल बैंकिङ र क्यूआर कोड सेवा विस्तार गरेर उदाहरणीय काम गरेको बताए। पासवानका अनुसार सहकारीले मासिक रुपमा आफ्नो कारोबार सार्वजनिक गरेर जनताको विश्वास जित्न सफल भएको छ।
नेपाल बैंक कञ्चनपुरका शाखा प्रबन्धक समित साह, नविल बैंकका सुरजकुमार ठाकुर, र सिटिजन बैंकका पारस देवलगायतले कार्यक्रममा सहकारीका सफलताहरूको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।
अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव शोभा गुप्ताले कार्यक्रम संचालन गरे। अतिथिहरुलाई संचालक समितिका उपाध्यक्ष संजयकुमार खडगाले स्वागत गरेका थिए। कार्यक्रममा सहकारीका शेयर सदस्य, पत्रकार, र स्थानीय वित्तीय संस्थाका प्रतिनिधिहरुका साथै अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति थियो।
सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै समुदायमा विश्वास निर्माण गर्ने दिशामा महत्त्वपूर्ण प्रगति गरिरहेको छ।
प्रतिक्रिया