वितरकको गाडी प्रयोग गर्दा अनावश्यक दुःख दिन छाड्नुपर्छ : उपाध्यक्ष खनाल

...

राजविराज, माघ ४  गते । नेपाल वितरक संघका केन्द्रीय उपाध्यक्ष टंक प्रसाद खनालले वितरकहरूको काममा अनावश्यक अवरोध सिर्जना हुँदा सेवा प्रभावित हुने बताउँदै ट्राफिक प्रहरीले वितरकका गाडी प्रयोगमा दिने दुःख तत्काल रोक्न आग्रह गरेका छन्।
सप्तरी वितरक संघका नवनिर्वाचित पदाधिकारीले पदस्थापना तथा सपथ ग्रहण कार्यक्रममा उपाध्यक्ष खनालले सो आग्रह गरेका हुन्। संघका अध्यक्ष सुमन राज सिंहको अध्यक्षतामा तथा नेपाल वितरक संघका केन्द्रीय उपाध्यक्ष टंक प्रसाद खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

समारोहमा बोल्दै प्रमुख अतिथि खनालले वितरकहरूको दैनिक कार्यसम्पादनमा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिँदा सेवा प्रभावित हुने गरेको बताएका छन्। उनले वितरकहरू बैंकको उच्च ब्याजदर, भ्याटका जटिलताजस्ता समस्याहरू झेल्न बाध्य भएको उल्लेख गर्दै, समान बिक्री गर्दा भिसीटिएसको आवश्यकता नपर्ने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए।

खनालले पेशागत हकहित संरक्षणका लागि वितरकहरू एकजुट हुनु आवश्यक रहेको बताउँदै, डिलरहरूलाई लिने र छोड्ने प्रक्रियामा एनओसीको आवश्यकता तथा क्रस डिस्ट्रीब्युसन रोक्नुपर्ने कुरा पनि उठाए। सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले संघका समस्याहरूलाई कानूनसम्मत ढंगले समाधान गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले वितरकहरूको हकहित संरक्षणका लागि प्रशासनले आवश्यक सहजीकरण गर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रदानले राजविराजभित्रका वितरकहरूले जग्गाको लालपुर्जा अभावमा समस्याहरू झेल्नुपरेको धारणा राखे। उनले नगरपालिकाले यस विषयमा चासो नदिँदा व्यवसायीहरूले बैंकमा ॠण प्राप्त गर्न नसकेको र यसले व्यवसाय कमजोर बनाएको गुनासो गरे। खुला सिमानाका कारण सिमा क्षेत्रमा हुने तस्करीले व्यवसायलाई कमजोर बनाएको भन्दै तस्करी नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने बताए।

सप्तरी वितरक संघको अध्यक्षमा सुमन राज सिंह, उपाध्यक्षमा चन्द्रशेखर साह, महासचिवमा अमित साह, सचिवमा कञ्चनरुप नगरपालिका ८का गजेन्द्र कुमार सिंह(बजरंग), कोषाध्यक्षमा पशुपति साह, र सहकोषाध्यक्षमा शिव कुमार गुप्ता चयन भएका छन्। समितिको सदस्यहरूमा ओमप्रकाश साह, सन्तोष साह, र रामएकवाल यादव रहेका छन्।

कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मनोज मुन्धडा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वितरक संघले उठाएका माग र समस्याका विषयमा सम्बन्धित निकायले चाँडो कदम चाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया