कञ्चनपुर, माघ ५ गते ।
सप्तरीका कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा एकै दिन तीन विद्यालयको नयाँ भवन शिलान्यास भव्य रूपमा सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवलकिशोर साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमहरूमा कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालय, वार्ड नं ३ स्थित जनता आधारभूत विद्यालय, र हनुमाननगर कंकालिनी नगरपालिका–४ स्थित श्री माध्यमिक विद्यालय मधवापुरको शिलान्यास गरिएको हो । यसलाई शैक्षिक विकास र भौतिक संरचना सुदृढीकरणतर्फ ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।
मन्त्री साहले आफ्नो सम्बोधनमा विद्यालय भवन निर्माणले क्षेत्रीय शैक्षिक गुणस्तरलाई अभूतपूर्व सुधार गर्ने विश्वास व्यक्त गरे । उनले भने, “सरकार बालबालिका र ज्येष्ठ नागरिकहरूको हितका लागि प्रतिबद्ध छ । आधुनिक र सुविधासम्पन्न भवनले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”
मन्त्री साहले शैक्षिक क्षेत्र सुधारका लागि बजेट विनियोजन गर्न कञ्चनरुप नगरपालिका मेयर पदका प्रत्याशी भोला पासवानको विशेष भूमिका रहेको बताए । “मेरो योजना सबै पालिकाका एक–एक विद्यालयका लागि सहयोग पु¥याउनु थियो । तर, भोला पासवानले कञ्चनरुपका विद्यालयहरूको अभाव र चुनौतीबारे विशेष ध्यानाकर्षण गराउनुभएकोले यस क्षेत्रलाई प्राथमिकता दिएको हुँ,” मन्त्री साहले उल्लेख गरे ।
कञ्चनरुप नगरपालिका वार्ड नं ३, बरमझियामा रहेको जनता आधारभूत विद्यालयको शिलान्यास कार्यक्रममा मन्त्री साहले पाँच विद्यालयका लागि पाँच करोड रुपैयाँको बजेट विनियोजन गरिएको र त्यसमा भोला पासवानको पहल निर्णायक भएको बताए । उनले हिन्दू र मुस्लिम समुदायबीच धार्मिक सहिष्णुता कायम राख्न अधुरो मन्दिर निर्माण तथा कब्रिस्तानलाई घेराबेरा गर्ने योजनाबारे पनि जानकारी गराए ।
कार्यक्रममा कञ्चनरुप नगरपालिकाका उपप्रमुख मुना कुमारी पोखरेल, वडा नं ८ का अध्यक्ष कृष्ण प्रसाद साह, वडा नं १० का अध्यक्ष दामोदर खडगा, वडा नं १ का अध्यक्ष रब्बान खाँन, वडा नं ३ का अध्यक्ष गुल्टेन चौधरी, जसपाका नेता रविन पासवान, जीवछ सरदार, पुष्कर गुप्ता, बच्चु सरबरिया, जगदेव सरदार, सिकन्दर शेख, रोहित साह, रामदेव खंग, अनिल पंजियार, र कैमुस शेखको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बरमझियाको कार्यक्रममा अध्यक्षता वडा नम्बर ३ का वडाध्यक्ष गुल्टेन चौधरीले गरेका थिए भने सञ्चालन विकास साहले गरेका थिए । सहभागीहरूलाई स्वागत विद्यालयका प्रअ राजेश्वर साहले गरेका थिए ।
त्यस्तै, कञ्चनरुपको सर्वोदय माध्यमिक विद्यालयको कार्यक्रममा विद्यालयका प्रअ तरानन्द मल्लिकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूलाई स्वागत शिक्षक रमानन्द गोइतले गरेका थिए ।
सहभागीहरूले विद्यालयको भौतिक संरचना सुदृढीकरणमा सामुदायिक सहभागिताको आवश्यकता औंल्याउँदै, निर्माण कार्यमा हरसम्भव सहयोग गर्ने प्रतिज्ञा व्यक्त गरे । विद्यालय प्रशासनले सरकारी अनुदान र सामुदायिक स्रोतको सहकार्यमा निर्माण प्रक्रिया अघि बढाउने योजना बनाएको छ । स्थानीय सहभागिता र सरकारी सहयोगका कारण यो परियोजना सफल हुनेमा विद्यालय प्रशासन आशावादी छ ।
कार्यक्रममा सहभागीहरूले विद्यालय भवन निर्माणले विद्यार्थीको सिकाइमा सहजता ल्याउने र शिक्षकहरूको शिक्षण प्रक्रियामा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया