मुकेश साहको न्यू महालक्ष्मी ज्वेलर्समा ४२ लाखको चोरी प्रकरणः प्रहरी अनुसन्धानमाथि प्रश्न उठ्दै

...

कञ्चनपुर, माघ ५ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–८ कञ्चनपुर बजारस्थित मुकेश साहको न्यू महालक्ष्मी ज्वेलर्समा पुष १० गते राति भएको ४२ लाख रुपैयाँ बराबरको चोरीको घटनाप्रति प्रहरीको ढिलासुस्तीले व्यापारी र स्थानीय जनतामा असन्तुष्टि छाएको छ ।
चारजनाको समूहले सटरको ताल्चा फुटाएर ज्वेलर्समा प्रवेश गरी करिब २१ किलो चाँदीका गहना, ६–७ तोला सुनका गहना, र नगद ४० हजार रुपैयाँ चोरी गरेको घटनामा सिसिटिभी फुटेजमा चोरहरुको तस्बिर प्रस्ट देखिए पनि, प्रहरीले हालसम्म कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।
प्रहरीको ढिलासुस्ती र स्थानीयको असन्तुष्टि
पीडित मुकेश साहले प्रहरीको प्राथमिकता चोर पक्रनेभन्दा पनि अन्यत्र केन्द्रित रहेको आरोप लगाए । उनले भने, “हाम्रो तीन पुस्तादेखि यही व्यवसायमा छौं, यस्तो घटना कहिल्यै भएको थिएन । भिडियोमा चोर प्रस्ट देखिए पनि पक्राउ नहुनु आश्चर्यजनक छ ।“
स्थानीय व्यापारी र नागरिकहरुले पनि घटनामा प्रहरीको कमजोरीमाथि प्रश्न उठाएका छन् । कञ्चनरुप व्यापार संघका सचिव शशी साहले भने, “बजार क्षेत्रमा प्रहरी गस्ती पर्याप्त छैन । नगरपालिकाले नियुक्त गरेको नगर प्रहरी पनि प्रभावकारी देखिँदैन ।“
प्रहरीले के भन्यो ?
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले सूक्ष्म अनुसन्धान भइरहेको र अन्य क्षेत्रसँग समन्वय गरेर चोरहरुको पत्ता लगाउने प्रयास जारी रहेको बताए । उनले भने, “सिसिटिभी फुटेजमा देखिएका व्यक्तिहरुको पहिचान कठिन भएकाले अनुसन्धानमा चुनौती भइरहेको छ ।“
चोरीको यो घटनापछि व्यापारी समुदाय त्रसित बनेको छ । सुरक्षा व्यवस्थामा कमजोरीको गुनासो गर्दै स्थानीय व्यापारीहरुले प्रहरीले गस्तीलाई कडा पार्न र शान्ति सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।
व्यस्त बजार क्षेत्रमै यस्ता घटनाहरु दोहोरिनुले कञ्चनरुप नगरपालिकाको सुरक्षा अवस्थाको गम्भीरता प्रष्ट पारेको छ । व्यापारीहरुले नगर प्रशासन र प्रहरीलाई तुरुन्त प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
यो घटना केवल एक व्यवसायको मात्र नभई सम्पूर्ण स्थानीय सुरक्षा व्यवस्थाको अवस्था सुधार गर्न आवश्यकताको संकेत हो ।
 

प्रतिक्रिया