कञ्चनपुर, माघ ६ गते ।
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–२ बरमझियामा रहेको सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा विपद् व्यवस्थापन तालिम अन्तर्गत आगलागी र भूकम्पको अभ्यास सम्पन्न गरिएको छ । यो कार्यक्रम सि.सं. ५३ विपद् व्यवस्थापन तालिमको हिस्सा थियो, जसको उद्देश्य विपद्को समयमा आगलागी नियन्त्रण र भूकम्प पीडितको उद्धार प्रक्रियालाई प्रभावकारी बनाउन प्रशिक्षण प्रदान गर्नु हो ।
तालिमको क्रममा अभ्यासको रूपमा एउटा घरमा आगलागी र भूकम्पको परिदृश्य सिर्जना गरियो । आगो लागेपछि उपस्थित स्थानीयहरूले “मेरो घरमा आगो लाग्यो“ भनेर होहल्ला गर्न थाले । तुरुन्तै सशस्त्र प्रहरीले वारुण यन्त्र, पानीको कल, र ह्यान्ड पम्पको प्रयोग गरी आगो नियन्त्रणमा लिएको थियो । यस क्रममा आगलागीबाट घाइते भएका व्यक्तिलाई तुरुन्तै एम्बुलेन्समार्फत उपचारको लागि अस्पताल पठाइयो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजि रहेका थिए । विशिष्ट अतिथिका रूपमा हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझी र कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता उपस्थित थिए । स्थानीय जनप्रतिनिधिहरू, सशस्त्र प्रहरीका जवान, र अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझीले तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गराइएकोमा प्रशंसा गर्दै भने, “यस तालिमले आगामी दिनमा देशलाई सम्भावित विपद्बाट जोगाउन थप सक्षम बनाउनेछ । यो प्रयासको लागि म तपाईंलाई बधाई दिन चाहन्छु ।”
सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नेत्र बहादुर कार्कीले तालिमको महत्वलाई जोड दिँदै भने, “स्थापना कालदेखि नै सशस्त्र प्रहरी बल विपद्को समयमा निरन्तर रूपमा परिचालित हुँदै आएको छ । यस तालिमले विपद् व्यवस्थापनमा थप सक्षमता ल्याउनेछ ।”
तालिममा ४८ जना प्रशिक्षार्थी सहभागी भएका थिए । तालिमले विपद् व्यवस्थापनमा स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच समन्वय अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । स्थानीय र सुरक्षा निकायबीचको सहकार्यले भविष्यमा विपद्का घटनामा द्रुत र प्रभावकारी प्रतिक्रियाको सम्भावना बढाउने विश्वास लिइएको छ ।
यो अभ्यासले विपद् व्यवस्थापनका क्रममा आवश्यक द्रुत र प्रभावकारी कदम चाल्नका लागि सशस्त्र प्रहरी बल र स्थानीय तहलाई सक्षम बनाउनेछ । भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै विपद्सँग जुझ्न तयार रहनुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
प्रतिक्रिया