मन्त्री साहको निर्देशन : मुकेश साहको न्यू महालक्ष्मी ज्वेलर्समा ४२ लाखको चोरी घटनाका दोषीलाई तत्काल कारबाही गर्नु

...

कञ्चनपुर,माघ ६ गते ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित न्यू महालक्ष्मी ज्वेलर्समा भएको ४२ लाख रुपैयाँ बराबरको चोरी घटनाका दोषीलाई तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

शनिबार सर्वोदय माविको कार्यक्रममा सहभागी भएका मन्त्री साहलाई ज्वेलर्सका संचालक मुकेश साहले चोरी घटनाबारे लिखित जानकारी गराएपछि मन्त्री साहले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडालाई गम्भीरताका साथ सूक्ष्म अनुसन्धान गरी चोरहरुलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका थिए।


पुष ११ गते राति न्यू महालक्ष्मी ज्वेलर्समा भएको चोरी घटनाले व्यापारी र स्थानीय बासिन्दामा गहिरो असन्तोष छाएको छ। चारजनाको समूहले सटरको ताल्चा फुटाएर करिब २१ किलो चाँदीका गहना, ६–७ तोला सुन, र २५ हजार नगद चोरी गरेको थियो। सिसिटिभी फुटेजमा चोरहरूको तस्बिर स्पष्ट देखिए पनि प्रहरीले हालसम्म ठोस उपलब्धि हासिल गर्न सकेको छैन।

ज्वेलर्सका संचालक मुकेश साहले प्रहरीको ढिलासुस्तीप्रति असन्तोष जनाउँदै भने, “हाम्रो तीन पुस्तादेखि यही व्यवसाय छ, यस्तो घटना कहिल्यै भएको थिएन। भिडियोमा चोर प्रस्ट देखिए पनि पक्राउ नहुनु अचम्मको कुरा हो।” स्थानीय व्यापारी र नागरिकहरुले प्रहरीको गस्ती व्यवस्थामाथि प्रश्न उठाएका छन्। कञ्चनरुप व्यापार संघका सचिव शशी साहले भने, “बजार क्षेत्रमा प्रहरी गस्ती पर्याप्त छैन। नगरपालिकाले नियुक्त गरेको नगर प्रहरी पनि प्रभावकारी देखिँदैन।” चोरी घटनापछि व्यापारी समुदाय त्रसित बनेको छ। सुरक्षा व्यवस्थामा सुधारको माग गर्दै स्थानीयहरुले तुरुन्त प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले चोरी घटनामा सूक्ष्म अनुसन्धान भइरहेको बताए। उनले भने, “सिसिटिभी फुटेजमा देखिएका व्यक्तिहरुको पहिचान कठिन भएकाले अनुसन्धानमा चुनौती छ, तर चोरहरुलाई पत्ता लगाउन हाम्रो प्रयास जारी छ।” न्यू महालक्ष्मी ज्वेलर्सको चोरी घटनाले कञ्चनरुप नगरपालिकाको सुरक्षा व्यवस्थामा गम्भीरता र सुधारको आवश्यकता प्रस्ट पारेको छ। व्यापारीहरुले नगर प्रशासन र प्रहरीलाई समन्वय गरेर शान्ति सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरेका छन्। यो घटना सम्पूर्ण नगर क्षेत्रको सुरक्षा व्यवस्थाको सुधार गर्न थप कदम चाल्नुपर्ने चेतावनी हो।

प्रतिक्रिया