थानकोट, माघ ६ गते।
चन्द्रागिरि नगरमा क्रिकेट खेलको प्रवर्द्धनका लागि शनिबारदेखि औपचारिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ। चन्द्रागिरि क्रिकेट एशोसियसनको नेतृत्वमा थानकोटस्थित शहीद स्मारक प्रकृति प्रतिष्ठान ९त्रिभुवन पार्क० मा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा बालबालिकाको उत्साहजनक सहभागिता देखिएको छ। एशोसियसनका अध्यक्ष प्रजिवन प्रधानले कार्यक्रमको औपचारिक उद्घाटनबारे जानकारी दिए। कञ्चनरुप नगरपालिका ९ निवासी प्रधान हाल थानकोटमा बस्दै आएका छन् । उनी समाजिक क्षेत्रमा सक्रिय छन्
नगरप्रमुख घनश्याम गिरी, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो। उद्घाटन कार्यक्रममा अध्यक्ष प्रधानले क्रिकेट खेलका माध्यमबाट स्थानीय प्रतिभालाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताए।
प्रशिक्षणको पहिलो दिन ५ जना बालिकासहित ४५ जना बालबालिकाले सहभागिता जनाएका छन्। चन्द्रागिरि क्रिकेट एशोसियसनका सदस्य जाविर हुसेनका अनुसार प्रारम्भिक चरणमा सहभागीहरूलाई क्रिकेटको सैद्धान्तिक र प्राविधिक ज्ञान प्रदान गरिनेछ। प्रशिक्षणका लागि आवश्यक किट र सामाग्रीहरूको सहजीकरण एशोसियसनले नै गरिरहेको छ।
नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकामा खेलकुद गतिविधि व्यवस्थित गर्न नगरले बजेट विनियोजन गरिरहेको जानकारी गराए। फुटबल, भलिबल, कराँते, ब्याडमिन्टनजस्ता अन्य खेलकुद कार्यक्रमहरू अघि बढाउँदै, नगरले क्रिकेट खेलका लागि पनि प्रशिक्षण र प्रतियोगिताको व्यवस्थापन गर्ने योजना रहेको उनले बताए। नगरप्रवक्ता तथा वडा नं। ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले विद्यालय स्तरबाटै क्रिकेट खेलको अभ्यास सुरु गर्न यो प्रशिक्षणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे। काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले चन्द्रागिरि नगरमा क्रिकेट प्रशिक्षण सुरु हुनु प्रशंसनीय प्रयास भएको बताए। ग्रासरूट स्तरबाटै खेलाडी उत्पादनमा यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहने उनको धारणा छ।
प्रशिक्षण कार्यक्रम माघ महिनाका ६ सार्वजनिक बिदामा सञ्चालन गरिनेछ। प्रारम्भमा त्रिभुवन पार्कमा सुरु भएको यो कार्यक्रम चन्द्रागिरि–६ स्थित मदन भण्डारी खेल मैदानसम्म विस्तार गरिने योजना छ। सहभागीको उत्साह र मागअनुसार प्रशिक्षणको समयावधि थप गर्न सकिने एशोसियसनले जनाएको छ। चन्द्रागिरि नगरमा यो प्रयासले खेलकुद गतिविधि मात्र नभई बालबालिकाको क्षमता अभिवृद्धि र खेल क्षेत्रमा नयाँ प्रतिभा पहिचान गर्न योगदान दिने विश्वास लिइएको छ।
प्रतिक्रिया