कञ्चनपुर, माघ २८ गते
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–१ स्थित बैरवामा सोमबार एक विशेष कार्यक्रमबीच १८० जना एकल महिलाहरूलाई ब्ल्याङ्केट वितरण गरिएको छ। नगरप्रमुख पदका प्रत्यासी भोला पासवानको पहलमा वडाभरिका एकल महिलालाई शीतलहरबाट जोगाउन उक्त सामग्री वितरण गरिएको हो।
ब्ल्याङ्केट वितरण कार्यक्रम वडा नम्बर १ का प्रत्यासी उमेदवार रामदेव शर्माको निवासमा आयोजना गरिएको थियो। कार्यक्रममा समाजसेवी तथा हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेस साहको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी अन्य विशिष्ट व्यक्तित्वहरूमा कार्यपालिका सदस्य सोभा पासवान, वार्ड सदस्य कलिम शेख, चम्पा सरदार, पत्रकार किशोर पासवान, समाजसेवी अर्जुन पंजियार, अनिल पंजियार, आरिफ शेख, चन्देश्वर भगत, बिन्दु पासवान लगायत अन्य समाजसेवीहरू रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पदका प्रत्यासी भोला पासवानले यसअघि पनि कञ्चनरुप नगरपालिकाका विभिन्न वडाहरूमा गरी ५ हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलालाई ब्ल्याङ्केट वितरण गरिसकेको जानकारी गराए। उनले भने, "म विपन्न तथा असहाय जनताको हितका लागि निरन्तर क्रियाशील छु। सधैं जनताको सेवामा समर्पित रहन्छु।"
उनका अनुसार, "जाडो मौसममा एकल ज्येष्ठ नागरिकलाई राहत पुर्याउने उद्देश्यले ब्ल्याङ्केट वितरण गरिएको हो।" उक्त वितरण कार्यक्रममा नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह र समाजसेवी सुमित साहको विशेष सहयोग रहेको उनले बताए।
वडा नम्बर १ का प्रत्यासी उमेदवार रामदेव शर्माले केही एकल महिलाहरू छुटेकाले आगामी दिनमा पुनः ब्ल्याङ्केट वितरण गरिने जानकारी गराए। आयोजकहरूले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया