राजविराज,फाल्गुन २ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर २ का निवासी सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि आफ्नै श्रीमती गायीत्री कुमारी साहको हत्या गरेको आरोप लागेको थियो ।
घटना २०७६ साल असोज ६ गते राति घटेको थियो, जसमा आरोपित साहले श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको र पछि उनलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा गायीत्री कुमारी साहको मृत्यु भएको थियो । उनीहरुबीच २०७६ साल जेष्ठ २६ गते विवाह भएको थियो । विवाहपछि साहले पत्नी गायत्रीलाई पटक पटक कुटपिट गरेको घटना बाहिरिएको थियो ।
सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको बेला सन्तोष साह फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, लामो समयदेखि फरार रहेका उनलाई खोजी गरी पक्राउ गरिएको हो। सप्तरी जिल्ला अदालतको आदेशअनुसार उनलाई तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरिक्षक मनिष श्रेष्ठले अभियुक्त पक्राउ परेसँगै थप अनुसन्धान अघि बढाइने जानकारी दिए ।
प्रतिक्रिया