मधेसमा २०२४ मा मानव अधिकार उल्लङ्घनका २,३४९ पीडित : महिला हिंसा र जातीय भेदभाव उच्च

...

जनकपुर, फागुन ७ – मधेस प्रदेशमा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा २,३४९ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले सार्वजनिक गरेको छ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ तथा मधेस प्रदेशको मानव अधिकार अवस्था छलफल कार्यक्रममा सार्वजनिक प्रतिवेदनअनुसार २०२४ मा राज्य पक्षबाट ५० जना (११ महिला, ३९ पुरुष) र अन्य पक्षबाट २,२९९ जना (२,२२५ महिला, १२४ पुरुष) पीडित भएका छन्।

गएको वर्ष अर्थात् २०२३ मा राज्य पक्षबाट ६९ (१५ महिला, ५४ पुरुष) र अन्य पक्षबाट १,११३ जना (९७७ महिला, १३६ पुरुष) पीडित भएका थिए। २०२४ मा राज्य पक्षबाट भएका घटनामा कमी आए पनि अन्य पक्षबाट भएका घटनामा वृद्धि भएको संयोजक पासवानले बताए।

बाल अधिकार उल्लङ्घन

सन् २०२४ मा १८० बालबालिका (१६२ बालिका, १८ बालक) पीडित भए। बलात्कारमा १३१ बालिका, यौन दुव्र्यवहारमा २२ बालिका र १ बालक, बेचबिखनमा ५ बालिका र ११ बालक तथा बालविवाहमा ३ बालिका र १ बालक परेका छन्।

महिला अधिकार उल्लङ्घन

महिला अधिकार उल्लङ्घनका घटनामा २,०२२ जना महिला पीडित भए। घरेलु हिंसाका १,५४७, दाइजो सम्बन्धी १९१, बलात्कार ९८, बलात्कार प्रयास ६५, बहुविवाह ६०, बोक्सी आरोप १९, बेचबिखन ११, साइबर अपराध ६, र महिला हत्या १८ घटना अभिलेख भएका छन्।

जातीय भेदभाव र मानव अधिकार सूचकाङ्क

जातीय छुवाछुतका घटनामा ५ जना पीडित भएका छन्। मानव अधिकार उल्लङ्घन सूचकाङ्कका आधारमा मधेस प्रदेश ३७.१७ अंकसहित तेस्रो स्थानमा छ। बागमती प्रदेश ६६.१८ अङ्कसहित पहिलो र लुम्बिनी ४१.८६ अङ्कसहित दोस्रो स्थानमा छन्।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तकले आम जनमानस र सरोकारवाला निकायलाई जानकारी गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयकी उपसचिव देवकुमारीले महिला हिंसा समाजमा लुकाइने प्रवृत्तिका कारण धेरै घटना सार्वजनिक नहुने बताइन्।

नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले इन्सेकले मानव अधिकार उल्लङ्घनबारे सरकार र सरोकारवाला निकायलाई उत्तरदायी बनाउने काम गरिरहेको उल्लेख गरे।

प्रतिक्रिया