विराटनगर, फागुन ७ – नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक भएको अवसरमा विराटनगरमा पत्रकार भेटघाट आयोजना गरिएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालयद्वारा आयोजित ‘कोशी प्रदेशको मानव अधिकार अवस्था र वातावरणीय सरोकार’ विषयक कार्यक्रममा इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलले मानव अधिकार संरक्षणमा इन्सेकको भूमिकाबारे जानकारी गराए। पोखरेलका अनुसार, इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अभिलेखन, प्रसार र पैरवी गर्दै आएको छ। उनका अनुसार, इन्सेकको वर्ष पुस्तक विश्वसनीय स्रोत भएको र यसले नीति निर्माणमा समेत योगदान पुर्याउने उल्लेख गरे। उनले कोशी प्रदेशका कारागारहरू जीर्ण भएको, क्षमताभन्दा तेब्बर सङ्ख्यामा कैदीबन्दी राखिएको, सरकारी कार्यालयहरू अपाङ्गमैत्री नभएको तथा महिला र मानव अधिकारमैत्री नभएको बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश प्रमुख विरबहादुर बुढा मगरले वातावरणीय पक्षलाई समेत मानव अधिकारसँग जोडेर इन्सेकले उठान गर्नु सकारात्मक पहल भएको बताए। उनका अनुसार, जलवायु परिवर्तनबाट सीमाङ्कृत समुदाय बढी प्रभावित भएका छन्। उनले लोकतन्त्र र मानव अधिकार परिपूरक भएको भन्दै महिला तथा बालबालिकामाथिको हिंसा बढ्दै जानु चिन्ताजनक भएको उल्लेख गरे।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव अरविन्द मेहताले कोशी प्रदेशका पत्रकारलगायत मानव अधिकार रक्षकहरूमाथि हुने हिंसाको विषयमा सरकार र मानव अधिकार आयोगले ध्यान दिनुपर्ने बताए। अधिकारकर्मी बासु अधिकारीले बालिका तथा बालकहरू यौन हिंसाबाट पीडित हुने घटनामा वृद्धि भएको भन्दै यसतर्फ गम्भीर ध्यानाकर्षण गराए। अधिकारकर्मी मञ्जीता उपाध्यायले मानव अधिकार रक्षकमाथि हुने हिंसाका विषयमा मानव अधिकार आयोगको हस्तक्षेप आवश्यक रहेको बताइन्।
इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले कोशी प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनाहरू गत वर्षभन्दा वृद्धि भएको जानकारी दिए। उनले सन् २०२३ मा अन्य पक्षबाट महिला अधिकार उल्लङ्घनका घटनामा ९२६ जना तथा बाल अधिकार उल्लङ्घनमा ३३६ जना पीडित भएकोमा सन् २०२४ मा क्रमशः १,१४० र ३५२ जना पुगेको बताए। उनका अनुसार, यस वर्ष बलात्कारका घटनामा १७६ जना, बलात्कारपछि हत्याका घटनामा २० जना, घरेलु हिंसाका घटनामा ८८३ जना तथा परिवारजनबाट हत्याका घटनामा ३४ जना पीडित भएका छन्। कार्यक्रममा ओरेककी शोभा बजगाईं, नेपाल टेलिभिजनका मोहन मानन्धर, अधिवक्ता कोषराज न्यौपाने, विश्लेषक दिनेश श्रेष्ठ, पत्रकार बाबुराम भण्डारी, देवनारायण साहलगायतकाले मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यून गर्न रणनीतिक कदम चाल्नुपर्ने सुझाव दिए।
कोशी प्रदेशको मानव अधिकार अवस्था इन्सेकले सातवटै प्रदेशका ५३ ओटा सूचकका आधारमा मानव अधिकार उल्लङ्घन सूचकाङ्क विश्लेषण गर्दा कोशी प्रदेश चौथो स्थानमा रहेको जनाएको छ। कोशी प्रदेशभन्दा बागमती, मधेश र लुम्बिनी प्रदेशको अवस्था खराब देखिएको छ। सन् २०२३ मा कोशी प्रदेशमा राज्य पक्षबाट ११६ जना पीडित भएकोमा सन् २०२४ मा ४१ जना पीडित भएका छन्। तर, अन्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि देखिएको छ। यस वर्ष कोशी प्रदेशमा राज्य नियन्त्रणमा रहेका ६ जनाको मृत्यु भएको छ। सन् २०२४ मा अन्य पक्षबाट भएका महिला अधिकार उल्लङ्घनका घटनामा १,१४० जना महिला पीडित भएका छन्, जसमा बलात्कारका घटनामा १७६ जना, बलात्कारपछि हत्याका घटनामा २ जना, घरेलु हिंसाका घटनामा ८८३ जना छन्। यस्तै, बाल अधिकार उल्लङ्घनका घटनामा ३५२ जना बालबालिका पीडित भएका छन्, जसमा बलात्कारका घटनामा २२५ जना, यौन दुव्र्यवहारमा ९४ जना रहेका छन्। कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यून गर्न तथा वातावरणमैत्री विकासको प्रवर्द्धन गर्न नीति निर्माताहरूलाई गम्भीर बन्न आग्रह गरेका छन्।
प्रतिक्रिया